काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत चन्द्रागिरी हिल्सका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्विङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। 

यस नयाँ योजनाअन्तर्गत छुट सुविधा लिनका लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ। यो योजना एक वर्षको लागि लागू रहनेछ। 

काठमाण्डौ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरी पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यका रुपमा रहेको छ। 

यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीलाई सन्ध्याकालीन केबलकारको टिकटसमेत प्रदान गरिने छ। यस योजना सम्बन्धित विस्तृत सेवा तथा सर्तहरुको जानकारी मोबाइल नम्बर ९८०२०८४००७ र ९८०२३००३०६ मार्फत प्राप्त गर्न सकिनेछ।