काठमाण्डौ । आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३ औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ।

‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो। डिजिटल रेमिट्यान्सको प्रवर्द्धन तथा रेमिट्यान्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको  आयोजना गरिएको  हो। 

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरीमा ‘सुरक्षित रेमिट्यान्स, सुरक्षित भविष्य’, ‘रेमिट्यान्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढी कर्मचारीको सभागिता थियो। 

प्रभातफेरीमा चर्चित कलाकार तथा आइएमईका ब्रान्ड एम्बेसेडर दीपकाराज गिरी र दीपाश्री निरौला पनि सहभागी थिए। 

प्रभातफेरीको उद्घाटन गर्दै अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्ने सम्पूर्ण सेवाग्राही, नियामक निकाय तथा कर्मचारीलाई कृतज्ञता व्यक्त गरे। 

हरेक वर्ष जेठ २९ गते आइएमईले आफ्नो स्थापना दिवसका अवसरमा सचेतनामूलक प्रभातफेरी आयोजना गर्दै आएको छ। 

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तबरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्याउँदै आइरहेको छ।