काठमाण्डौ । कर्पोरेटपे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा रु. ५० अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। जुन कर्पोरेटपे सञ्चालन भएको माघ २०७७ महिनादेखियताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो। 

गत आर्थिक वर्ष कुल रु. १०९.५ अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेटपेमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने रु. ४२१ अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेटपेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुईगुणाले वृद्धि भएको हो। 

हाल शैक्षिक संस्था, कन्स्ट्रक्सन कम्पनी, ट्राभल व्यवसायी, रिटेल व्यवसायीलगायतका विभिन्न संस्थागत ग्राहकले कर्पोरेटपे प्रयोग गर्ने गरेका छन्। ४७ बैंक तथा वित्तीय संस्थामार्फत उक्त प्रणाालीमा बैंक तथा वित्तीय संस्थाका ७ हजार ७०० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई कारोबार गर्दै आएका छन्। 

एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेको यस प्रणालीमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी उपलब्ध छन्। यसका साथै यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, फन्ड म्यानेजमेन्टलगायतको थप सुविधा रहेको छ।  

प्रणालीमा रियल टाइममा प्रतिकारोबार रु. २० लाखसम्म र नन–रियल टाइम कारोबारको हकमा रु. २० करोड सम्म गर्न सकिन्छ। उक्त प्रणाालीमा व्यावसायिक ग्राहकलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नका लागि आवश्यक मल्टी–फ्याक्टर अथेन्टिकेसन तथा अथोराइजेसनको समेत उपयुक्त व्यवस्था रहेको छ। यसका साथै व्यावसायिक ग्राहकले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेश सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन्।  

अनलाइन रजिस्ट्रेसनका लागि बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकले corporatepay.connectips.com मा गई मागिएका कम्पनीसम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यकताअनुरुप सेटअप, युजरको विवरण र बैंक खातासम्बन्धी विवरण दाखिला गरी एकपटक अनलाइन रजिस्ट्रेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ र सो अनलाइन रिक्वेस्टका आधारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्छन्।