काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आँखा उपचारका लागि नेपाल आई प्रोग्राम (तिलगंगा आँखा प्रतिष्ठान) र मित्र समाजसँग सहकार्य गर्ने भएको छ। 

देशका सातै प्रदेशमा अन्धपन, मोतियाविन्दुजस्ता आँखाका रोगहरुको न्यूनीकरण गर्नका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल आई प्रोग्राम र मित्र समाजसँग सहकार्य गर्ने भएको हो। यसका लागि बैंकले ४७ लाख ९० हजार ८६६ (३६ हजार ४३४ अमेरिकी डलर) नेपाल आई प्रोग्रामलाई आर्थिक सहयोग गरेको छ।

बैंकले पर्साको निचुतामा सामुदायिक आँखा केन्द्र (सीईसी) स्थापना गर्न आर्थिक सहयोग गरेको हो। यो सामुदायिक आँखा केन्द्रबाट पर्टेवा सुगौली गाउँपालिका–५ र आसपासका ग्रामीण तथा सहरी क्षेत्रका मानिसहरुले आँखा उपचारसम्बन्धी सेवा पाउनेछन्। 

यो प्रोजेक्ट विशेषगरी आँखासम्बन्धी विभिन्न समस्या भएका वृद्धवृद्धा, महिला र बालबालिका लाभांश हुने बैंकको विश्वास छ। यसबाबट त्यस क्षेत्रका ७ हजार २०० मानिस प्रत्यक्ष रुपमा लाभान्वित हुने अनुमान गरिएको छ। जसअनुसार यो वर्ष सामुदायिक आँखा केन्द्रबाट ३ हजार, कम्युनिटी स्क्रिनिङबाट २ हजार, स्कुल स्क्रिनिङबाट २ हजार कन्ट्रयाक्ट सर्जरीबाट २०० जनाले लाभ उठाउने बैंकको भनाइ छ। 

यसैगरी बैंकले मित्र समाजलाई ६७ लाख २५ हजार (५१ हजार ३७९ अमेरिकी डलर) आर्थिक सहयोग उपलब्ध गराएको छ। यो रकम कन्ट्रयाक्ट ब्लान्डनेस एलिभेसन प्रोजेक्टमा उपयोग हुनेछ। यो प्रोजेक्टबाट स्क्रिनिङमार्फत ३ हजार मानिस लाभान्वित हुने र ७०० देखि १ हजार कन्ट्रयाक्ट केसहरु पत्ता लाग्ने अपेक्षा गरिएको छ। 

बैंककी कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ हेड हर्षा पिल्लाईका अनुसार नेपाल आई प्रोग्राम र मित्र समाजसँगको यो सहकार्यले सहजता र आर्थिक कारणले आँखाका उपचार पाउन नसकेकाहरु लाभान्वित हुने। यो प्रोग्रामको मुख्य उद्देश्य भनेको आँखा रोगहरुको प्रारम्भिक पहिचान, रेफरल र उपयुक्त उपचारमा ध्यान केन्द्रित रहुन नै रहेको उनको भनाइ थियो।

तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत रितु गुरुङले बैंकबाट प्राप्त रकम त्यस क्षेत्रका विपन्नवर्गका मानिसको हितमा उपयोग गरिनेमा आश्वस्त पारिन्। 

मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीले स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग सहकार्य गर्न पाएकोमा उत्साहित भएको बताए। ‘ निःशुल्क आउटरिच माइक्रो सर्जिकल आँखा क्लिनिकको आयोजना गरेर अन्धोपन हुने रोगका केसहरु पहिचान गरी दृष्टि सुधार गरिनेछ’, उनले भने।