काठमाण्डौ । बाबु एड्भेन्चर्स प्रालिले  चन्द्रागिरीमा व्यवसायिक रुपमा प्याराग्लाइडिङ सेवा सञ्चालनमा ल्याएको छ।

प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब १ करोड ५० लाख रुपैयाँ लगानी भैसकेको र लगानी अझै बढ्ने कम्पनीले बताएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङमा नेपालकै पहिलो प्रशिक्षकसमेत रहेका सानोबाबु सुनुवारले व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान शुरु गरिएको बताए । 

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान गरिने उनको भनाइ छ । कम्पनीले एकैपटकमा १२ वटा प्याराग्लाइडर उडाउन पाउने अनुमति पाएको छ । दैनिक १ हजार २०० जनासम्मलाई सेवा दिन सकिने उनले बताए । 

स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र उपत्यकाबासीलाई पनि प्यारा उडानको अनुभव दिलाउन लगानी गरेको बताउँछन् । 

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरि करिब ६ वर्षको प्रयासमा चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू गर्न सफल भएको उनको भनाइ छ ।
कति लाग्छ शुल्क ?

कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङ उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ  शुल्क तोकेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाण्डौबाट प्याराग्लाइडिङ स्थलसम्म जाने-आउने सुबिधा उपलब्ध हुनेछ ।फोटो र भिडियोको उपकरणको प्रवन्ध कम्पनीले नै गर्ने व्यवस्था मिलाएको छ ।

सोही प्याकेजका लागि विदेशी नागरिकले भने १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने छ ।