काठमाण्डौ । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ। 

पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिईन्। यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो। 

यसबाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरुको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ। एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो।

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौँ। यो जित नेपालका पारा–एथलीटहरुको उत्कृष्ट प्रदर्शनको नतिजा हो। पलेशा र अन्य सबै पारा खेलाडीहरुले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो। एनपीसीसँगको हाम्रो सहकार्यले पलेशाजस्ता सच्चा नायक पारा खेलाडीहरुलाई प्रेरणा प्रदान गर्ने उदेश्य राखेको छ र हामी समावेशितालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौँ।’

‘एसियाली पारा खेलकुदबाट पहिलोपटक देशको लागि पदक जितेर देशका लागि ल्याउन पाएकोेमा म गौरवान्वित छु। हामीजस्ता पारा खेलाडीहरुको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरुका तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु। पारा खेलाडीहरुको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरु लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्टिय सफलता दिलाउने विश्वास लिएको छु’, पलेशाले भनिन्। 

पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशका लागि कास्य पदक ल्याउन सफल भएकी थिइन्। 

यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरी विभिन्न १० खेलका विधामा नेपालबाट १९ जना पारा खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गरेका थिए। ‘देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपनाप्रति दृढ विश्वासका साथ अघि बढेका नेपाली पारा खेलाडीहरुकोे खेलप्रतिको उनीहरुको लगनशीलता र इच्छा शक्तिको हामी हार्दिक सम्मान गर्दछौँ’, एनसेलले भनेको छ। 

एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो। यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरुकोे समग्र तालिम, विकास तथा प्रशिक्षणका लागि सहयोग गर्नेछ। 

एनसेलका बारेमा 

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरुलाई लाभ प्रदान गर्न अनवरत रुपमा काम गर्दै आएको छ। 

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्याइरहेको छ। 

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८–७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। 

एनसेल आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाका साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो।