काठमाण्डौ । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ ।

कम्पनीले आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहिको लागि पहिलो रोजाई हुन सफल भएको बताएको छ । 

 वार्षिकोत्सवका असरमा कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ १३ वर्ष अगाडिदेखि सेवा सुरु गरेको बताउँदै ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुर्‍याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी, सोही कम्पनीका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले फूडमान्डु किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको उल्लेख गर्दै कम्बोमा ५१ प्रतिशतसम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५ प्रतिशतसम्म फ्ल्याट छुटसहित विभिन्न अफरहरू रहेको बताए ।

वार्षिकोत्सवको दिन अर्थात कात्तिक २५ गते प्रत्येक अर्डरमा प्रोमो कोड TeenYearMagic को प्रयोगमा थप १३ प्रतिशत छुट रहेको छ ।  कम्पनीले आजको दिनसम्ममा ९५ प्रतिशट फूडमान्डुको मोबाइल एपमार्फत आउने गरेको बताउँदै अहिलेसम्म ५लाख भन्दा बढीपटक एप डाउनलोड भइसकेको उल्लेख गरेको छ ।

यो संख्याले कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्वपूर्ण परिवर्तनलाई देखाएको छ । साथै कम्पनीले सुरुवातमा केवल १० वटा रेस्टुरेन्टहरू मात्र आवद्ध रहेकोमा हाल १हजार ४०० वटा रेस्टुरेन्टहरू आवद्ध रहेको बताएको छ । कम्पनीमा २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन् ।