काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । 

मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो । 

यस प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको छ । 

सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ । 

प्रतियोगितामा सहभागिता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए । 

प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो र प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो । 

एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्याउने अवसर प्रदान गर्ने एनसेलले जनाएको छ । 

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले आफ्नो उत्साह प्रकट गर्दै भने, “विजयीहरुलाई धेरै धेरै बधाई । दिदी र भाईको विशेष सम्बन्धलाई ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत प्रस्तुत गर्दै यस प्रतियोगितामा सहभागिता जनाउने हरेक व्यक्ति तथा समूहरुहरुलाई धन्यबाद दिन चाहन्छु । यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ । स्टोरीेटेलिङ एउटा महत्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ ।”

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, “एक ब्रान्डको रूपमा स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो । यसैअन्तर्गत हामी एक सानो भूमिका खेलिरहेका छौं तर भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौं ।”

यस लघु चलचित्र प्रतियोयिताका निर्णायक मण्डलका सदस्यहरु निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए । 

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले  दिदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्ने शर्त रहेको थियो । साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरु थिए ।