काठमाण्डौ । टीकापुर प्रहरी हत्याकाण्डका नाइके आरोपित प्रहरीका मोस्ट वान्टेड रेशमलाल चौधरी निकटतम प्रतिस्पर्धी भन्दा करिब ५ गुणा बढी मतान्तरले अगाडि बढिरहेका छन् । 

प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका चौधरी अझै फरार छन् । वारेसमार्फत कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका चौधरीले ९ हजार ९ सय २४ मत ल्याएका छन् । उनकी निकटतम प्रतिदन्दी एमालेकी मदनकुमारी शाहले हालसम्म २ हजार १ सय ८४ मत मात्रै पाएकी छिन् । 

चौधरी राजपाबाट उम्मेद्वार भएका हुन् । स्थानीय संचारकर्मीका अनुसार चौधरी चुनाव प्रचार प्रसारमा समेत सहभागी भएनन् । उनको चुनाव प्रचार उनकी पत्नी, छोरी र अन्य आफन्तले गरिदिएका थिए । 

नेपाल प्रहरीले ०७२ भदौ ७ गते भएको कैलालीको टीकापुर घटनाको मुख्य दोषी चौधरी नै रहेको निश्कर्ष निकाल्दै उनलाई मोस्ट वान्टेडको सूचिमा राखेको छ । सो घटनामा प्रहरीका एक एसएसपीसहित ७ सुरक्षाकर्मीको विभत्स हत्या भएको थियो । उनी भने भारतका विभिन्न शहरमा आश्रय लिएर बसिरहेका छन् । 

मोस्ट वान्टेड चौधरी प्रचण्डको भारत भ्रमणको क्रममा उनलाई भेटिरहेको तस्विर निकै भाइरल भएको थियो । चौधरीलाई भारतीय नेताहरुले संरक्षण दिंदै आएका छन् । 

स्मरणरहोस्, केही समयअघि मनाङबाट गुण्डानाइके दीपक मनाङे चुनाव जितेर माननीय भइसकेका छन् ।