काठमाण्डौ । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पेशीका लागि बिहीबार सर्वोच्च अदालत गएको अवस्थामा पेशीकक्षमै नेकपा माओवादीका कार्यकर्ताले हातपात गर्दै कालोमोसो दलेका छन् । यो घटनापछि लोकमानप्रति पूर्वाग्रही हुँदै आएको भनिएको सर्वोच्च अदालतलाई विवादमा तानेको छ भने उसको सुरक्षा व्यवस्था र संवेदनशीलतामाथि पनि गम्भीर प्रश्नचिन्ह खडा भएको छ । 

संविधानविद भिमार्जुन आचार्यले लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतको पेशी कक्षमै भएको आक्रमण र कालोमोसो दल्ने कामलाई नेपालको न्यायिक इतिहासकै ‘दुर्लभ घटना’ भनेका छन् । 
‘यो सबै घटनाको जिम्मा सर्वोच्चले लिनुपर्छ ।’ संविधानविद् भिमार्जुन आचार्यले बिजशालासँग भने–‘हिजोको दिनमा सर्वोच्च लोकमानविरुद्ध एकहोरो लागेको देखिन्छ, यसैको फाइदा कालोमासो दल्नेहरुले उठाए ।’ 

आचार्यले लोकमानमाथि मात्र नभई सर्वोच्च अदालतको संवेनदशीलतामाथि समेत आक्रमण भएको दाबी गरे । उनले यो घटनाका कारण सर्वोच्च अदालतको सुरक्षा व्यवस्थाप्रति पनि गम्भीर प्रश्न उठेको बताए । 

‘सर्वोच्चले लोकमानको बिषयमा जुन ढंगले सुनुवाई गरिरहेको छ, त्यसमा केही न केही कमजोरी र पूर्वाग्रह छ भन्ने कुरा थप प्रष्टियो ।’ आचार्यले भने–‘सर्वोच्चकै इतिहासमा पनि यो लाजमर्दो घटना हो ।’