काठमाण्डौ । तीव्र गतिमा बिस्तार भई देशका चारवटा महानगरपालिकाभित्र पर्न सफल भरतपुरमा एमालेले चुनावी अभियानलाई तीव्र पारेको छ । यो पार्टीका मेयर तथा उपमेयर, वडाअध्यक्ष तथा सदस्यका उम्मेद्वारहरुले आफ्नो चुनावी अभियान र घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । कांग्रेस र माओवादी केन्द्रको तालमेलका कारण सिर्जित निकै ठूलो चुनौतिको सामना गर्न कस्सिएको एमालेले आफ्नो अभियानको क्रममा भरतपुरलाई पूर्ण डिजिटलाइजेसनसहितको स्मार्ट सिटी बनाउनेदेखि लिएर सरकारी कामकाज र कारोबारलाई समेत डिजिटलाइजेसन बनाउनेसम्मका मुद्धाहरु लिएर घर-घर पुगिरहेको छ । 

उसका अधिकांश अजेण्डाहरु आर्थिक समृद्धिसँग जोडिएका छन् । जलविद्युत आयोजनाको निर्माणदेखि पर्यटनको विकास र नारायणगढलाई देशकै आधुनिक र ठूलो व्यापारिक केन्द्र बनाउनेसम्मका अजेण्डा समेटिएका छन् । 

एमालेको तर्फबाट देवी ज्ञवाली तथा दिव्य शर्मा आचार्य क्रमशः मेयर र उपमेयर पदका उम्मेद्वारको रुपमा प्रस्तुत छन् । ज्ञवाली भरतपुर नगरपालिकाका पूर्व उपमेयर हुन् भने आचार्य एमालेकी क्रियाशील कार्यकर्ता र शिक्षिका हुन् । दुवैको वाकपटुता र भाषणकलाको ठाउँ–ठाउँमा निकै प्रशंसा समेत हुने गरेको पाइएको छ । दमदार भाषण शैलीका कारण उनीहरुले संचालन गरेका अभियानको रौनक नै बेग्लै देखिन्छ । 

मंगलबार भरतपुरको गौरीगञ्जमा एमाले उम्मेद्वारहरुलाई सहभागी गराएर कोणसभा आयोजना गरिएको थियो, जुन विशाल थियो । गाउँमा भएको कोणसभाको सहभागिता समेत निकै लोभलाग्दो थियो । 

सो कार्यक्रममा एमालेका उम्मेद्वारहरुले आफ्ना कुरा राखेका थिए । मेयरका उम्मेद्वार देवी ज्ञवालीले आफूहरुलाई जिताएर भरतपुरलाई स्मार्ट सिटी र देशकै लोभलाग्दो र सुन्दर महानगर बनाउने उद्घोष गरे । उनले महानगरभित्रका सबै नागरिकहरु तथ्यांक संकलन गरी अनलाइन परिचयपत्र जारी गरिने र सबैलाई परिचयपत्र वितरण गरी सरकारी कामकाज तथा सर्वसाधारणले गर्ने कारोबारलाई समेत पूर्ण डिजिटलाइजेनस गरिने घोषणा गरे । उनले भने-'खालि विदेशका कुरा मात्र गर्छौ, प्रविधिसँग जोडिइने हो भने हामीमा पनि त्यो टाढा छैन ।' 

उनले २९ वटै वडामा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, सबै वडामा २४ सै घण्टा नियमित गाडी चल्ने बाटोको व्यवस्था गर्ने, बच्चाबच्ची र बुढापाकाका लागि घुम्ने तथा घुमाउने पार्कहरु हरेक वडामा निर्माण गरिने बताए । यस्तै, फोहोरमैलाको गुणस्तरीय व्यवस्थापन गरिने, फोहोरबाट उर्जा उत्पादन गर्ने समेत बताए ।  

नगरलाई समृद्ध र आम्दानीयुक्त बनाउने, आफ्नै १२५ मेगावटको हाइडोपावर बनाउने, हाइडोको सेयर सबै जनतालाई बिक्री गर्ने र विकास निर्माणलाई अझ अगाडि बढाउने बताए । 

चाइनामा ह्वांगो नदीलाई हिजोको दिनमा चाइनाको दुःख भनिन्थ्यो, तर आज वरदानमा फेरिएको दृष्टान्त दिंदै उनले हिजो चितवनबासीका लागि दुःख बनेको नारायणी नदीलाई व्यवस्थित गरिने, नारायणीमा बाँध बाध्ने बताए । त्यसमा हजारौं हेक्टर जमिन निस्किने र त्यसभित्र एकातिर वाणिज्य केन्द्र तथा अर्कोतर्फ सुकुम्बासीहरुलाई व्यवस्थित बसोबास निर्माण गर्ने पनि उद्घोष गरे । 

केही मुख्य एजेण्डा यस्ता छन् :

  • भरतपुरलाई योजनाबद्ध ढंगले मेडिकल सिटीको रुपमा विकास गरिने, भरतपुर अस्पताललाई ५ सय शैयाको सुविधासम्पन्न अत्याधुनिक अस्पतालसहितको मेडिकल कलेज बनाइने ।
  • भरतपुरमा छुट्टै मदन भण्डारी टमा अस्पताल स्थापना गरिने र भरतपुर अस्पताल हाताभित्रै छुट्टै सुविधासम्पन्न प्रसूति गृह निर्माण गर्ने । 
  • भरतपुर महानगरलाई प्राविधिक तथा व्यवसायिक शिक्षासहितको शैक्षिक केन्द्रको रुप्मा विकास गरिने । 
  • सबै सामुदायिक विद्यालय र महाविद्यालयहरुमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाइने ।
  • नारायणगढको पुलचोक, सहीदचोक, लायन्सचोक, वीरेन्द्र क्याम्पस चोक, चौबीसकोठा, हाकिमचोक र भरतपुर बसपार्क चोकमा आकोश पुल निर्माण गरिने ।
  • मुख्य मुुख्य बजार क्षेत्रमा उचित सवारी पार्किंग स्थल निर्माण गरिने, बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने । 
  • महानगरको बाहिरी चक्रपथसँग समानान्तर हुने गरी मेटो रेल सेवा संचालन गर्ने, यो रेल सेवालाई महानगरका मुख्य मुख्य बजार जोड्ने गरी बिस्तार गर्ने । 
  • महानगरपालिकाभित्रका सबै सडकलाई कालोपत्रे गर्ने, महानगरभित्र ढल र आकाशे पानी निकासको उचित प्रबन्ध मिलाउने । 
  • भरतपुर विमानस्थल र भरतपुरमा रहेको सैनिक ब्यारेकलाई स्थानान्तरण गर्ने र ती क्षेत्रमा भ्यूटावर, पार्क र सिटी हल निर्माण गर्ने । 
  • मेघौली विमानस्थल स्तरोन्नति गरी नियमित बिमान उडान अवतरण गर्ने व्यवस्था मिलाउने । 
  • भरतपुर वडानं. २० मा रंगशला निर्माण गर्ने । वडा नं. १८ मा सिटी हल निर्माण गर्ने । प्रत्येक वडाहरुमा एक एक वटा सामुदायिक भवन निर्माण गर्ने । 
  • देवघाट, मेघौली, पटिहानी, जगतपुर, गणेशस्थान, शिवघाट सहितका क्षेत्रलाई पर्यटकीय र धार्मिक स्थलको रुपमा विकास गर्ने । 
  • महानगरको पहाडी क्षेत्रको रुपमा रहेको कविलासलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, उपयुक्त वस्तीहरुमा होमस्टे निर्माण गर्ने र कविलासको चौकीडाँडामा भ्यूटावर निर्माण गर्ने । 
  • नारायणी नदी करिानमा रहेको नगर वनलाई आकर्षक पार्कसहितको मनोरञ्जनस्थलको रुपमा विकास गर्ने । महानगरभित्रका ज्ञानेश्वर, सीतामाई, जलदेवी, विक्रमबाबा लगायतका क्षेत्रहरुमा पर्यटनसहितको वनभोजस्थल बनाउने । 
  • नारायणगढ बजारलाई देशकै आधुनिक व्यापारिक सहरको रुपमा विकास गर्ने । 
  • महानगरभित्र अन्तराष्ट्रिय स्तरको आवासीय पत्रकारिता प्रशिक्षण केन्द्र स्थापना गर्ने । महानगर र मातहतका कार्यालयहरुमा प्रेस सल्लाहकार राख्ने व्यवस्था गर्ने। 
  • महानगरका प्रत्येक घरधुरीलाई सहजै पहिचान गर्न सकिने गरी सडक, ब्लक र घर नम्बर प्रदान गर्ने । 
  • महानगरका सबै अभिलेखहरुलाई विद्युतीय प्रविधिभित्र ल्याइने, केन्द्रसँग समन्वय गरी राष्टिय परिचयपत्र वितरण गर्ने