पोखरा । नेपाली कांग्रेस पोखरा केही अन्तरसंघर्ष, आपसी मनमुटाव र माओवादीबाट हुनसक्ने धोकाधडीलाई समेत चिर्दै अन्तिम समयसम्म पनि अगाडि बढ्ने प्रयत्न गरिरहेको छ । चुनावी मैदानमा पोखरा लेखनाथ महानगरपालिकाको मेयरतर्फ रामजी कुँवर र उपमेयरतर्फ सरस्वती गुरुंगले उम्मेद्वारी दिएका छन् । उनीहरुले समेत चुनावी अभियान तथा प्रचारप्रसारको कार्यक्रम मौन समयअघि नै सकेका छन् । 

कांग्रेसले महानगरमा संचारमाध्यमहरुलाई प्रचार प्रसारका लागि निकै राम्रो ढंगले प्रयोग गरेको देखिएको छ । आन्तरिक समस्यालाई समेत चिर्दै विभिन्न ठाउँमा पुुगेका मेयर पदका उम्मेद्वार रामजी कुँवरले छोटो मीठो भाषण गर्दै जनतासँग मत माग्ने गरेका छन् । 

उनले पोखरालाई आधुनिक, विश्वकै आकर्षक र हरित नगरी बनाउने भन्दै भोट मागे । 

मुख्य रुपमा कांग्रेसले आफ्नो घोषणापत्रमा महानगरका ३३ वटा वडा जोड्ने चक्रपथ निर्माणलाई प्राथमिकता दिएको छ । घरघरमा धारा र स्वच्छ पिउने पानी, घरघरमा शौचालय, एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान निर्माणलाई समेत घोषणापत्रमा राखिएको छ । महानगरलाई सुकुम्बासीविहीन, सडक बालबालिकाविहीन, हिंसामुक्त छाडाचौपायामुक्त, धूँवाधूलोरहित सहरको रुपमा विकास गर्ने समेत कांग्रेसले प्रतिबद्धता व्यक्त गरेको छ । 

महानगरपालिकालाई उज्यालो र हराभरा भएको सहर बनाउने, महानगरभित्र विपद्को बेला सुरक्षित रहन सकिने सेल्टर, सार्वजनिक भवनका साथै ग्रामीण भेगमा एम्बूलेन्स र हेलिप्याडको समेत प्रबन्ध गर्ने कांग्रेसको प्रतिबद्धता छ । 

कांग्रेसले समेत महानगरभित्र मेटो रेल, स्मार्ट बस संचालन गर्ने, अन्य सहरसँग जोड्ने रेलमार्ग निर्माण गर्ने तथा पर्यटकीय महत्वका स्थानमा केवलकार पनि बनाउने वचन दिएको छ । 

अन्तराष्ट्रियस्तरको अत्याधुनिक प्रविधिजडित सुविधासम्पन्न सम्मेलन केन्द्रको निर्माण गर्ने र पोखरलाई सुुविधासम्पन्न अन्तराष्टिय स्तरको पर्यटकीय शहरको रुपमा विकास गरी पर्यटक आगमन बढाउने लगायतका नारा समेत उसको घोषणापत्रमा समेटिएका छन् । पाँच वर्षभित्र महानगरका वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरुलाई लालपूर्जा र बसोबासको व्यवस्था गर्ने समेत कांग्रेसको प्रतिबद्धता छ । 

केही राम्रा कार्यक्रम उसको घोषणापत्रमा पनि समेटिए पनि एमालेको जस्तो एड्भान्स कार्यक्रम चाहि कांग्रेसले ल्याउन नसकेको देखिएको छ ।