काठमाण्डौ । स्थानीय निकायको दोश्रो चरणको निर्वाचन अन्तरगत केही छिटपुट घटनाबाहेक आइतबार तीनवटा प्रदेशमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ ।

मनोनयन दर्तापछि परेको उम्मेद्वारीको सूचि सबै क्षेत्रबाट सार्वजनिक नभइसके पनि यो क्रममा विभिन्न ठाउँमा केही रोचक घटना पनि भए । दोश्रो चरणको निर्वाचनको मनोनयनका दिन चर्चा बटुलेका र केही रोचक घटनालाई बुँदागत रुपमा हेरौं :

नेता बहिस्कारमा, कार्यकर्ता चुनावमा
पार्टी नेतृत्वले स्थानीय तहको निर्वाचन बहिष्कारको घोषणा गरे पनि राष्ट्रिय जनता पार्टी(राजपा)का कार्यकर्ताले भने त्यसलाई चुनौति दिंदै आइतबार रुपन्देहीमा मनोनयन दर्ता गरेका छन् । राजपाका कार्यकर्ताले रुपन्देहीका तीन स्थानीय तहमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

राजपाको बाहुल्यता रहेको रुपन्देहीको दक्षिणी क्षेत्रस्थित सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोककुमार शुक्ला र उपाध्यक्षमा कमालुद्दिन शेखले  मनोनयन दर्ता गराएका हुन् । उनीहरु दुवै राजपाका स्थानीय नेता हुन् । यस्तै, जिल्लाको मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकीप्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले मनोनयन दर्ता गराएका छन् ।

राजपा कार्यकर्ताहरुले मनोनयन दर्ता गरिरहँदा आइतबार नै भैरहवामा आयोजित पत्रकार सम्मेलनमा राजपाको अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले मधेशको माग सम्बोधन नगरी निर्वाचन गराउनुको कुनै अर्थ नरहेको दाबी गरिरहेका थिए ।

विप्लव पनि चुनावमा
रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावमा उम्मेदवारी दिएको छ । चुनाव बहिस्कारको अभियानमा हिँडेको यो पार्टीले रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका हुन् । विप्लवको दल निर्वाचन आयोगमा  दर्ता नभएपछि घर्तिले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका हुन् ।

ओलीको गृहनगरमा ७ जनाको स्वतन्त्र उम्मेद्वारी
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुख पदमा ७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ७ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता भएको हो । उपप्रमुखमा भने स्वतन्त्रतर्फ दुईको मात्र उम्मेदवारी परेको छ । दलहरुबाट भने ७ जनाले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् ।स्वतन्त्र तर्फबाट गोविन्दप्रसाद भट्टराई, अर्जुन बुढाथोकी, वीरसिंह धिमाल, ओमनाथ बस्नेत, देवीप्रसाद गौतम मधु थापामगर र सुन्दर देवानले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा स्वतन्त्रतर्फबाट प्रकाश नेपाल र भवानीप्रसाद मिश्रको उम्मेदवारी परेको छ ।

बाजुरामा झडप, एकको मृत्यु
उता, बाजुराको डोगडीमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपमा एकजनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन् ।

छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र सो क्रममा हंश राउतको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय पत्रकार प्रकाश शाहले जनाएका छन् ।  

कपिलवस्तुमा बम विस्फोट
स्थानीय पत्रकार कृष्णप्रसाद ढकालका अनुसार जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट हुँदा ९ जना घाइते भएका छन् । बम विस्फोट कुन समूहले गरायो भन्ने खुलेको छैन । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता रहेका प्रहरीले जनाएको ढकालले उद्धृत गरेका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु रहेका छन् । एक साइकल यात्रीले मनोनयन दर्तास्थल छेउमा रातो कपडाले बेरिएको बस्तु छाडेर हिँडेको केही मिनेटमै बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका रिपोर्टमा उल्लेख छ ।

बाँकेमा झडप
मनोनयन दर्ताको दिन बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रवीच झडप  हुँदा ३ जना घाइते भएका छन् । मनोनयन दर्तासंगै शक्ति प्रदर्शन गर्ने क्रममा २ दलका कार्यकर्ताहरुवीच झडप भएको थियो ।

एमालेले मनोनयन दर्ता गरेर फर्किदै गर्दा र माओवार्दी यालीसहित मनोनयन दर्ता गर्न जाँदै गर्दा झडप भएको प्रहरीले जनाएको छ । मनोनयन दर्ता पछि एमालेले सभा गरिरहेका बेला माओवादीको जुलुसले सभालाई बाधा पुर्याएपछि एमाले र माओवादीवीच ढुङगा हानाहानसँगै झडप भएको थियो । झडप नियन्त्रण लिन प्रहरीले अश्रूग्यास र हवाई फायर गरेको थियो ।

तेश्रो लिंगी पनि उम्मेद्वार
नवलपरासीको सदरमुकामस्थित रामग्राम नगरपालिकाको एक तेश्रो लिङ्गीले उम्मेदवारी दिएकी छन् । मधेश तराई फोरम पार्टीबाट तेश्रो लिङ्गी गीता सैथवारले आइतबार मेयर पदका लागि मनोनयन दर्ता गराएकी हुन् । रामग्राम नगरपालिका ७ उजैनी घर भएकी तेश्रो लिङ्गी गीता निकै नगरपालिकामा लोकप्रिय छिन् । गीता तेश्रो लिङ्गी भएपनि उनी विवाहिक जीवनमा बाँधिएर महिलाको रुपमा नागरिकता पाएकी छन् । उनी ४० वर्षदेखि उजैनीमा बस्दै आएकी छन् । वि.संं २०१९ सालमा गीताको भारतमा जन्म भएको थियो । १५ वर्षको उमेरमा उनी नेपालको नवलरासीको साबिक सुक्रौली गाविस निवासी रामजी सैंथवारसँग विवाह गरी नेपाल छिरेकी हुन्।