चितवन । स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट बुुबा प्रचण्डको आशिर्वादले पाएकी रेणु दाहाललाई चितवनमा निकै ठूलो सकस परिरहेको छ । कांग्रेससँगको तालमेलका कारण उनलाई जति सकस छ, त्यो भन्दा बढी आफ्नै नेता तथा कार्यकर्ताले समेत चुनावी कार्यक्रम एकपछि अर्को गर्दै बहिस्कार गर्न थालेपछि उनी अत्तालिएकी छिन् । 

माओवादी स्रोतका अनुसार उनका चुनावी कोणसभा र घरदैलो अभियानहरुमा माओवादीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता अत्यन्त न्यून छ । उनी २०–३० जनाको एउटै टिम लिएर जता पनि दौडिरहेकी छिन् । ‘टिममा सहभागी समेत अधिकांश अपरिपक्वजस्ता देखिन्छन् ।’ माओवादीकै एक जिल्लास्तरीय नेताले भने–‘हामीमध्ये धेरै जिल्लास्तरका नेताहरुले प्रचण्डपुत्रीलाई साथ दिएका छैनौ, यो हाम्रो पार्टीभित्रको नातावाद प्रवृतिको विरोधको संकेत पनि हो ।’ 

एकातिर प्रचण्डपुत्रीलाई मेयरमा समर्थनसँगै तालमेल गरेको बिषयले चितवन कांग्रेसमा भाँडभैलो छ भने वर्षौदेखि जिल्लामै रहेर काम गरेका नेतालाई छाडेर अध्यक्ष प्रचण्डले पुत्री रेणुलाई मेयरको टिकट दिएकोमा माओवादी केन्द्रभित्रै पनि ठूलै असन्तुष्टि रहेको पाइएको छ । यही असन्तुष्टि चुनावी अभियानमा प्रतिबिम्बित भइरहेको छ । 

एमालेको हरेक चुनावी अभियानमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल लगायतका नेताहरुको साथ र सहभागिता रहेको देखिएको छ । कांग्रेसको अभियानमा समेत नेताहरुको उस्तै साथ छ । तर माओवादी केन्द्रको अभियानमा भने जिल्लास्तरकै नेताको सहभागिता समेत देखिएको छैन । यसरी आफ्नैबाट बहिस्कारमा परेकी रेणु दाहालले माओवादी कार्यकर्ताबाटै पनि घात व्यहोर्नुपर्ने अवस्था देखिएको छ । ‘कांग्रेसका अधिकांशले प्रचण्डपुत्रीलाई कुनै पनि हालतमा भोट हाल्दैनन् ।’ माओवादीभित्रको एक सूत्रले भन्यो–‘हामीभित्र पनि धेरैले उनलाई भोट नदिने र प्रचण्डलाई देखाइदिने भन्ने सहमति भएको छ । उनलाई चुनाव जित्न कठीन छ ।’ 

कांग्रेसभित्रका नेताहरुको बुुझाई पनि यही छ । रेणु दाहालमाथि माओवादीभित्रैबाट अन्तरघात भइरहँदा उनलाई आफूहरुले उचालेर हिँडेर मात्र नहुने उनीहरुको ठम्याई छ । ‘उनको अभियानमा माओवादीका जिल्लास्तरकै नेताहरुको समेत साथ छैन ।’ कांग्रेसका ती नेताले भने–‘हामीले इमानदारितापूर्वक अभियानमा सामेल गराइरहेका छौ, तर कार्यकर्ता भोट चाहि दिंदै दिंदैनौ भन्छन् ।’ 

अरु त अरु रेणु दाहालको चुनावी अभियानमा अहिलेसम्म माओवादी केन्द्र चितवनका अध्यक्ष इन्द्रजित परियारको मुख देखिएको छैन । किन त ? बिजशालासँग कुरा गर्दै परियारले भने–‘यो चुनावको प्रचारप्रसारमा हामीलाई कुनै मोह छैन । हामी निराश छौ यसपटक ।’ उनको यो भनाई नै काफी थियो कि प्रचण्डको पुत्रीमोहले जिल्लाका नेता तथा कार्यकर्ता कतिसम्म रुष्ट भएका रहेछन् भन्ने कुरा बुुझ्नलाई । 

माओवादी कांग्रेसको तालमेल नटिक्ने र सफल नहुने तथा कांग्रेसभन्दा आफ्नाबाटै अन्तरघात भइरहेको देखेपछि रेणुले बुुबा प्रचण्डलाई गुहारेकी बुझिएको छ । यही कारण प्रचण्ड र शेरबहादुर देउवा बिहीबार चितवन आउने र चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सो सभामार्फत प्रचण्डले आफ्नो निर्णयका कारण रुष्ट माओवादी नेता तथा कार्यकर्तालाई सम्झाउने र देउवाले समेत माओवादीलाई भोट नहाल्ने अड्डी लिएर भाँडभैलो गरिरहेका अगुवा कार्यकर्तालाई फकाउने रणनीति लिएका देखिन्छ । 

चुनाव आउन केही दिन मात्र बाँकी रहँदा प्रचण्डपुत्रीको अभियानमा देखिएको फितलोपन, आफ्नैबाट भइरहेको असहयोग र कांग्रेसका अधिकांशले भोट नहाल्ने भन्दै दिएका अभिव्यक्तिले संसदका पहिलो र तेश्रो ठूलो पार्टीबीचको चुनावी तालमेल फेल खाने र यसको भरपूर फाइदा एमाले र राप्रपाका उम्मेद्वारले लिनसक्ने देखिएको छ ।