पोखरा । एमालेले पोखरा लेखनाथ महानगरपालिकाको सर्वागिंण विकासका लागि एड्भान्स घोषणापत्र तयार गरी प्रचारप्रसारलाई तीव्र पारेको छ । मौन समय सुरु हुनुुअघिसम्म पनि यो दलका नेता तथा उम्मेद्वारहरु नेताहरुले बनाएका एड्भान्स घोषणापत्र वितरण गर्दै र आफ्नो एड्भान्स कार्ययोजना प्रस्तुत गर्दै दौडधूप गरिरहेका छन् । 

एमाले पोखराले अन्य महानगरको भन्दा निकै एड्भान्स र सन्तुलित विकासको अवधारणा तथा अधिकार सम्पन्न स्थानीय निकाय सम्बन्धी संरचनाको सफल कार्यान्वयनका लागि समेत कार्यक्रम तथा योजनाहरु प्रस्तुुत गरेको हो । 

अन्य ठाउँमा बिर्सिइएका सहकारी, बैंक, बेरोजगारी शिक्षित युवालाई सर्टिफिकेटको आधारमा ऋण, केन्द्र सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तामा महानगरको तर्फबाट थप योगदान लगायतका निकै लोकप्रिय नाराहरु घोषणापत्रमा समेटिएको छ । 

एमालेले महानगरभित्रका सहभारी संस्थाहरुलाई नियमन तथा व्यवस्थापन गरी, एक वडा एक बैंकको नीतिलाई लागूू गर्ने मुद्धालाई प्राथमिकताको साथ उठाएको छ । यस्तै, सहकारी संस्थामा रहेको निश्चित पुँजी संग्रह गरी एकीकृत सहकारी विकास कोषको व्यवस्था गर्ने र सो कोषलाई सुरक्षाको प्रत्याभूतिसहित जलविद्युत क्षेत्रमा लगानी गरी सहकारी हाइडोको विकास गर्ने योजना समेत छ । 

एमालेले महानगरका युवाहरुलाई बेरोजगार भत्ता समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने युवाहरुलाई प्राविधिक तथा व्यवसायिक तालिम दिई स्वरोजगारको अवसर सिर्जना गरी तालिमकै प्रमाणपत्रको आधारमा समेत बिनाधितो ऋण उपलब्ध गराउने निकै आकर्षक कार्यक्रम समेत घोषणापत्रमा समेटिएको छ । 

एमालेले चुनाव जित्ने प्रमुख आधार मानेको सामाजिक सुरक्षा भत्तामा महानगरको तर्फबाट १० प्रतिशत थप गर्ने उद्घोष समेत गरिएको छ । यस्तै, अन्य महानगरमा झै यहाँ पनि सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्न मेटो टेन, मेटो बसको सेवा संचालन गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

पोखरा एमालेका घोषणापत्रका केही मुख्य बुँदा यस्ता छन् : 

  • महानगरका व्यस्त मार्ग र चौकहरुमा फ्लाइओभर, टनेल, आकाशेपुल आदिको निर्माण गर्ने । 
  • एकीकृत बस्ती विकास कार्यक्रमबाट सुकुम्बासी र अव्यवस्थित बस्तीहरुलाई आवश्यक सुविधासहित एक परिवार, एक घर कार्यक्रम कार्यान्वयन गर्ने । 
  • प्रत्येक वर्ष स्नातक तह अध्ययन गर्ने १०० जनालाई महानगर छात्रवृति, स्नातकोत्तर तथा एमफिल अध्ययन गर्न ५० जनालाई महानगर विद्वतवृति र विद्यावारिधि गर्ने १० जनलाई अनुसन्धानवृति प्रदान गरिने । 
  • महानगरभित्र निर्माण हुने प्रत्येक घरमा एक घर दुुई रुखको नीति अवलम्बन गर्ने । 
  • महानगरभित्र र बाहिर गरी तीनवटा चक्रपथ निर्माण गर्ने । दीर्घकालीन योजना अन्तरगत ५ वटा चक्रपथ निर्माण गर्ने बिषयमा अध्ययन थाल्ने । 
  • नगरसभा, महानगर अदालत तथा मेलमिलापसम्बन्धी कार्यहरुको व्यवस्थापन र संचालनका लागि महानगरमा एउटा छुट्टै विभाग खडा गरी न्यायलाई सर्वसुलभ बनाउने ।
  • हरेक वर्ष अक्टुुबर १ मा महानगरका सबैभन्दा जेष्ठ महिला र पुरुषलाई महानगर माता र महानगर पिताको सम्मान प्रदान गर्ने । 
  • आफ्नो जीवनमा आय भएका व्यक्तिहरुले त्यस्तो आयको निश्चित प्रतिशत कटौति गर्दै गएमा महानगरपालिकाबाट पनि थप अनुदानको व्यवस्था गरी जेष्ठ नागरिक नर्सिंग होम्सको व्यवस्था गर्ने । 
  • बेरोजगार युवालाई कानून बनाई बेरोजगार भत्ताको व्यवस्था गर्ने । 
  • कुनै समय खानेपानी र विद्युत सेवा अनियमित हुने भएमा त्यसको पूर्व जानकारी महानगरबासीलाई गराइने । 
  • महानगरका सबै टोलका सार्वजनिक स्थल र सडकहरुमा सोलार बत्ती जडान गर्ने । 
  • सबै वडा कार्यालयहरुमा महानगरपालिकासँग ब्रोड ब्याण्ड इन्टरनेटबाट नेटवर्किंग् गरी पेपरलेस, ई गभर्नेन्सको थालनी गर्ने र महानगरलाई आइटी सहरको रुपमा विकास गर्ने ।
  • महानगरभित्र आपसी सामाजिक सद्भावलाई सुदृढ तुल्याउन सांस्कृति पर्वहरु ल्होसार, ट्होंटे, इद, जनैपूर्णिमा, गाइजात्रा, माघे संक्रान्ति आदिलाई प्रादेशिक पर्वको मान्यता दिलाउन आवश्यक पहल गर्ने ।