धरान उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट मेयर र उपमेयरका उम्मेद्वार आइतबार निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्दै ।
धरान । पूर्वकै पुरानो शहर हो धरान । इटहरीसँगै उपमहानगरपालिका भएको यो शहर अपेक्षाकृत रुपमा विकास हुन नसकेको क्षेत्र हो । पुरानो र ऐतिहासिक शहर भएर पनि छेउछाउका शहरको तुलनामा तीव्र विकास हुन नसकेको धरानमा बग्रेल्ती विकासका मुद्धासहित यसपटक विभिन्न दलका उम्मेद्वारहरु चुनावी मैदानमा छन् । मैदानमा भएका दलका उम्मेद्वारहरुको आँखा जातीय मतमा रहेको देखिएको छ ।
यो क्षेत्रमा कुल मतदाता करिब ८० हजारमध्ये राई जातिको मतदाता संख्या मात्र १८ हजार छ । लिम्बूको करिब १४ हजार, नेवार समुदायको करिब १२ हजार मत र बाँकी अन्य जातिको मतदाता छन् । मुख्य यी तीन जातिको मतलाई आफ्नो पक्षमा पार्ने भगिरथ प्रयास मुख्य दलका उम्मेद्वारहरुले जारी राखेका छन् ।
धरानमा मुख्य रुपमा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । माओवादी निकट एक पत्रकारका अनुसार धरानको मेयर र उपमेयर पदमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने देखिन्छ, माओवादी तेश्रो हुनेछ । उपमेयरमा भन्दा मेयरमा एमाले र कांग्रेस उम्मेद्वारको प्रतिस्पर्धा निकै रोचक हुने र हारजितको अवस्थामा झिनो मत नै निर्णायक बन्ने ती पत्रकारको दाबी छ ।
‘उपमेयरमा भने एमाले उम्मेद्वार मञ्जु भण्डारी निकै अगाडि देखिएकी छिन् ।’ ती पत्रकारले भने–‘मेयरमा कांग्रेस र एमालेबाट प्रमुख दाबेदारी रहे पनि कसले जित्छ भन्न सकिने अवस्था छैन ।’ उनको यो भनाईको पछाडि समेत जातीय समीकरण, जातीय मत मुख्य कारक रहेको पाइयो ।
कांग्रेसले किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईलाई मेयरमा उठाएको छ । कांग्रेसले धरान उपमहानगगरपालिका क्षेत्रमा १८ हजार मत रहेका राईहरुको मत तान्ने रणनीतिसहित किशोर राईलाई पाखा लगाउँदै तिलकलाई टिकट दिएको देखिन्छ । कांग्रेसले यही मतलाई समेत आफ्नो जित्ने आधार मानेको छ । तर, किशोर राईले टिकट नपाएको झोकमा तिलक राईलाई भोट नदिने कांग्रेसको पंक्ति समेत ठूलै रहेको धरानमा विश्लेषण हुने गरेको छ । आन्तरिक घात र अन्तर्घातको लप्काले धरानमा कांग्रेसले हार व्यहोर्नुपर्यो भने अचम्म नमान्दा हुने अवस्था देखिएको छ । ‘तर राई जातिको जातीय संगठनको अध्यक्ष भएको हिसाबले तिलक राईले त्यो समुदायबाट स्वभाविक रुपमा ताराको भन्दा बढी मत पाउँछन् ।’ एमाले निकट अर्का पत्रकारले बिजशालासँग भने–‘कांग्रेसले आफ्नो जित्ने प्रमुख आधार यसैलाई बनाएको छ ।’
राई बाहेकका जातिमा जुन उम्मेद्वारले पकड जमाउन सक्यो, उसैको पोल्टामा जित पर्ने ती पत्रकारले दाबी गरे ।
लिम्बू समुदायको मत माओवादी र एमालेमा विभाजित हुने अवस्था देखिन्छ । कारण, एमालेले तारा सुब्बा(लिम्बू) र माओवादीले अइन्द्रविक्रम बेघा(लिम्बू)लाई मेयरको रुपमा प्रस्तुत गरेका छन् ।
१५ नम्बर वडाले छान्नेछ मेयर उपमेयर
धरान उपमहानगरपालिकामा २० वटा वडा छन् । यी २० वडामध्ये सबैभन्दा धेरै मतदाता भएको वडा १५ हो । जहाँको मतदाताको संख्या १० हजार रहेको छ । यो वडालाई मेयर उपमेयर छान्ने प्रमुख वडा समेत मान्ने गरिन्छ । यो वडामा फराकिलो अन्तर जसले बनाउन सक्यो, उसले जित्छ भन्ने गरिन्छ । बाझगरा लगायतको क्षेत्र पर्ने यो वडामा एमालेको पकड राम्रो देखिन्छ । एमालेले आफ्ना उम्मेद्वारले जित्ने प्रमुख आधारको रुपमा समेत यो क्षेत्रलाई प्रस्तुत गर्ने गरेको छ । साबिकको धरान नगरपालिकामा गाभिएको विष्णुपादुका क्षेत्र समेत एमालेको आधारक्षेत्र हो । धरान नगरपालिका मात्रै हुँदा समेत आफूले जितेको क्षेत्रमा गाभिएका केही गाविस समेत आफ्नो आधार क्षेत्र रहेको र ती सबै मिसिएर बनेको उपमहानगरपालिकामा आफूहरुले सुविधाजनक बहुमतले जित्ने दाबी एक एमाले नेताले गरे । तर, स्थानीय विश्लेषकहरुको भनाईमा एमालेले कुरा गरेजस्तो यसपटक चुनाव जित्न सहज भने छैन । ‘उपमेयरमा एमाले निकै अगाडि छ ।’ धरानका एक विश्लेषकले भने–‘मेयरमा चाहि भन्न सकिने अवस्था छैन ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago