धरान । प्रदेश नम्बर १ को पुरानो सांस्कृतिक शहर धरानमा चुनावी चटारो उत्कर्षमा छ । दलदेखि स्वतन्त्र उम्मेद्वारी दिनेहरु समेत चुनाव जित्ने दाबीका साथ घरदैलो तथा प्रचार प्रसार अभियानमा सहभागी छन् । मेयर उपमेयरदेखि वडाअध्यक्ष तथा सदस्यहरुमा समेत बग्रेल्ती उम्मेद्वारी परेको छ । स्वतन्त्र र दलका गरी मेयर र उपमेयरमा १२/१२ जनाले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारहरुको यो भीडामा प्रमिला यङदेनको चर्चा भने बेग्लै र धेरै छ ।
दलका हस्ती उम्मेद्वारहरुबीच एकाएक चर्चा बटुलिरहेकी प्रमिला को हुन् ?
प्रमिला विगत आधा दशकदेखि एमाले राजनीतिमा सक्रिय नाम हो । विशेष गरी उनी धरान उपमहानगरपालिका वडानम्बर ८ मा एमालेदेखि सर्वसाधारणमाझ समेत चिनिएको नाम हो । एमालेको धरान नगर सदस्य र वडानम्बर ८ को पार्टी इञ्चार्ज समेत हुन् उनी । तर, स्थानीय निर्वाचनमा उनको चर्चा पार्टीको जिम्मेवारीले होइन, पार्टीको गलत रबैयाविरुद्ध उनले दिएको बागी उम्मेद्वारीले बढाइरहेको छ ।
यतिमा मात्र सीमित छैन उनको कथा । उनी एमालेको तर्फबाट यसअघि धरान नगरपालिकामा मेयर हाँकेका मनोज मेयाङ्वोकी जेठी पत्नी हुन् । मेयर भइसकेका नेताले कान्छी भित्र्याएपछि पीडित भएकी उनी एमालेमै सक्रिय थिइन, तर चुनावको मुखमा एमालेको निर्णयबाट रुष्ट भएपछि पार्टी परित्याग गरी पूर्व मेयरकी जेठी प्रमिलाले स्वतन्त्र रुपमा वडानम्बर ८ को अध्यक्ष पदमा उम्मेद्वारी दिएकी छिन् । पूर्व मेयरकी जेठी पत्नीले पार्टी परित्याग गरी स्वतन्त्रबाट उम्मेद्वारी दिएको बिषयले अहिले धरान तताएको छ ।
किन भयो विद्रोह ?
प्रमिलाले पार्टीबाट विद्रोह गर्ने कारण चरम असन्तुष्टि रहेको पाइएको छ । बिजशालासँग कुरा गर्ने क्रममा प्रमिलाले आफ्ना पति(पूर्व मेयर)ले कान्छी ल्याउँदा समेत पार्टीबाट आफूले न्याय नपाएको गुनासो गरिन् । अन्यायमा परिरहेकै अवस्थामा मनोज मेयाङ्वोले कान्छी पत्नी राखेको घरमा पार्टीले चुनावका लागि सम्पर्क कार्यालय खोलिदिएपछि प्रमिलामा असन्तुष्टि चुलियो ।
वडाको पार्टी इञ्चार्ज उनलाई यो बिषयमा थाहै नदिई सौता बसेको घरमा पार्टी कार्यालय राखिएपछि उनमा असन्तुष्टिको सीमा रहेन । ‘मलाई पार्टीले न्याय त दिएन नै ।’ उनले भनिन्–‘चुनावमा समेत मलाई रोक्ने उद्देश्यले म नजाने घरमै पार्टीको सम्पर्क कार्यालय राख्ने षड्यन्त्र गरियो ।’ पार्टीको निर्णय सच्याउन र सम्पर्क कार्यालय त्यहाँबाट अन्यत्र सार्न आफूले गरेको आग्रह नसुनिएपछि रुष्ट बनेकी प्रमिलाले पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिइन् र चुनावमा वडानम्बर ८ बाट स्वतन्त्र उम्मेद्वारी दिइन् ।
मनोनयन दर्ताको दिन भोटेपुलस्थित सभागृहमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनी समयमै पुगेकी थिइन् । सबैले उनलाई अग्रिम शुभकामना दिएका थिए । बेलैमा उम्मेद्वारी दर्ता गराएकी उनले चुनाव चिन्ह प्राप्त गरेपछि प्रचारप्रसारलाई तीव्र पार्ने योजना बनाएकी छिन् ।
के छन् अजेण्डा ?
एमालेको बागीको रुपमा उम्मेद्वारी दिएकी प्रमिलाले आफूसँग पूरा नहुने सपनासँग सम्बन्धित एजेण्डा नरहेका प्रष्ट्याइन् । ‘वडामा गर्नैपर्ने, तर हुन नसकेका सामान्य काममै म बढी फोकस छु ।’ उनले थपिन्–‘मेरो मुद्धा घरेलु हिंसामा परेका महिलाहरुको पक्षमा समेत केन्द्रीत छ ।’
उनले वडाका प्रत्येक महिला मतदातालाई भेटेर आफू पीडित भएको सुनाउने र अन्य महिलालाई यस्तो पीडा नहोस् भन्ने एजेण्डालाई समेत साथमै लगी प्रचारप्रसार गरी चुनाव जित्ने योजना बनाएकी छिन् । ‘म पूर्व मेयर(पति)बाट पीडित भन्ने कुरा सारा धरानलाई थाहा छ ।’ उनले भनिन्–‘मलाई सबैले सहयोग गर्ने वचन दिनुभएको छ, म वडानम्बर ८ बाट चुनाव जित्दैछु ।’
उनलाई हामीले सोध्यौं –जित्नुभयो भने के के गर्नुहुन्छ ? उनले आफ्ना अजेण्डासँग सम्बन्धित काम गर्ने उल्लेख गरिन् र भनिन्–‘मुख्य रुपमा मेरो वडामा मेरोजस्तो अवस्था अन्य महिला दिदीबहिनीको हुन दिँन्न । वडालाई महिलाहिंसारहित क्षेत्र बनाउनेछु ।’
पूर्व मेयर पतिविरुद्ध समेत कानूनी लडाई लड्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन्–‘म उसको थप बेइज्जत गर्न चाहँन्न । उसँग बोलचाल नभएको ५ वर्ष बितिसक्यो । मैले जे भोगेँ भोगेँ, अरुले यस्तो भोग्न नपरोस्, म यही सन्देश लिएर अगाडि बढ्नेछु ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago