काठमाण्डौ । माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडपका कारण स्थिति तनावग्रस्त भएपछि रामेछापको दोरम्बा गाउँपालिकास्थित कालिका भगवती माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ । 

मतदान भइरहँदा २ सत्तासीन पार्टीका कार्यकर्ताबीच झडप भई अवस्था तनावपूर्ण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नुका साथै एक सेल टियर ग्याँस समेत प्रहार गरेको छ । 

स्थानीय पत्रकारहरुका अनुसार झपडलाई उत्तेजित बनाउने कार्यमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झपडको क्रममा एक माओवादी कार्यकर्ता सामान्य घाइते भएका छन् । 

माओवादीका कार्यकर्ताले मतदान स्थललाई कब्जा गर्न खोजेपछि त्यसलाई कांग्रेस कार्यकर्ताले रोक्न खोज्दा झडपको अवस्था सिर्जना भएको हो । अवस्थालाई थप नियन्त्रणमा लिई पुनः मतदान सुचारु गर्न सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । 

झडपपछि ३ घण्टाका लागि मतदान कार्य रोकिएको बताइएको छ । सो केन्द्रमा १ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो । 

सर्वदलीय बैठक राखेर पुनः मतदान सुचारु गर्ने तयारी भइरहेको स्थानीय निर्वाचन अधिकारीलाई उद्धृत गर्दै एक पत्रकारले जानकारी दिएका छन् ।