काठमाण्डौ । अंग्रेजी नयाँ वर्षको एक दिनअघि बिहीबार नेप्से परिसूचकले अलटाइम हाईको उचाइ चुमेको छ।

सेयर कारोबार हुने साताको अन्तिम दिन आज परिसूचकमा २५.२१ अंकले बढेर अहिलेसम्मकै सर्वाधिक उचाइ २०८७.२८ विन्दु उक्लिएको हो। यसअघि नेप्से परिसूचकले गत डिसेम्बर २ तारिखमा २०७१ विन्दुको अलटाइम हाई चुमेको थियो।

सूचकले अलटाइम हाईको रेकर्ड कायम गर्दा कारोबार रकम पनि विस्तारै बढेर झन्डै पौने ६ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। 

सूचक वृद्धिमा कारोबार रकमले बलियो टेवा दिन नसकिरहेकाले समेत नेप्सेले २१०० विन्दुको प्रतिरोध पार गर्न धेरै कठिनाइ परिरहेको विश्लेषकहरुको भनाइ छ। सूचीकृत कम्पनीका अधिकांश कम्पनीहरुले धमाधम एजीएमका लागि बुक क्लोज मिति तय गरी मूल्य समायोजन हुने भएकाले समेत कारोबार रकम प्रभावित भएको विश्लेषकहरुको ठहर छ।

गत पुस ५ गते संसद् विघटन भएपछि संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन के हुने भन्ने अन्यौलका कारणसमेत लगानीकर्तामा द्विविधा थपिएकोले आक्रमक रुपमा सेयर खरिद नभएकाले सूचक र कारोबार रकममा उल्लेख्य बढोत्तरी नभएको विश्लेषकहरुको भनाइ छ।

आज नेप्सेमा उपसमूहमा रहेका निर्जीवन बीमा समूहबाहेक अन्य सबै ११ समूहमा हरियाली छाएको छ। यो दिन निर्जीवन बीमा समूहमा ९६.४३ अंकको गिरावट आएको छ। 

व्यापार समूह सर्वाधिक १८७.७३ अंकले उकालो लागेको आज जीवन बीमा समूहमा १७२.७१ अंकले बढोत्तरी भएको छ। त्यस्तै बैंकिङ समूह ३०.५७ अंक, होटेल्स् समूह १.३१ अंक, विकास बैंक समूह १४.३१ अंक, जलविद्युत समूह ४.८ अंक, वित्त समूह ४.२९ अंक, उत्पादन तथा प्रशोधन समूह २.४५ अंक, अन्य समूह २३.८९ अंक, लघुवित्त समूह ०.१८ अंक र म्युचुअल फन्ड समूह ०.०१ प्रतिशतले बढेका छन्। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ४६ करोड ८८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३७ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको आज नागरिक लगानी कोषको २८ करोड ७८ लाख रुपैयाँ, नेपाल टेलिकमको २८ करोड ५१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २७ करोड रुपैयाँ, शिवम सिमेन्ट्सको २६ करोड ८३ लाख रुपैयाँ, एभरेस्ट बैंकको २३ करोड ८५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ५५ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १५ करोड ३७ लाख रुपैयाँ र सिद्धार्थ बैंकको १४ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाए

आज साल्ट ट्रेडिङका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट नै लाग्यो।

यो दिन नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।