काठमाण्डौ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । 

बुधवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।

तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । 
 

सिफारिस समितिले प्राप्त निवेदनबाट तीन जनाको नाम छनौटका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । 

गत पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेश कुमार हमालको पदावधि समाप्त भएपछि धितोपत्र बोर्ड अध्यक्ष विहीन छ ।

धितोपत्रबजारको नियमन गर्ने नियामक धितोपत्र बोर्डको कार्यकारी भूमिका निर्बाह गर्ने अध्यक्षको कार्यकाल सकिनु अगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्नुपर्ने कानूनी प्रावधान छ । 

तर,  रिक्त भएको १५ दिनपछि मात्रै सरकारले अध्यक्ष नियुक्तिका लागि सक्रियता देखाउँदै सिफारिस समिति गठन गरेको हो ।

कानूनी प्रावधान अनुसार अध्यक्षको पदावधि चार वर्षको हुन्छ । र उसलाई पुनः बढीमा चार वर्षको लागि नियुक्त गर्न सकिन्छ ।

यो पनि हेर्नुहोस् :

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विचौलिया हावी, देउवा पुत्रलाई ३ करोडको प्राडो !