काठमाण्डौ । पछिल्लो समय अक्सन मार्केटबाट सेयर खरीद गर्ने बग्रेल्ती अवसर जुट्न थालेको छ । कम्पनीहरुले हकप्रद निश्कासन गरे पनि सेयरधनीले खरीद गर्न चासो नदिएपछि सबै सेयर बिक्री नहुने समस्या बढ्दै गइरहेको छ । योसँगै अक्सन मार्केटमा सस्तोमै सेयर खरीदको अवसर समेत एकपछि अर्को गर्दै थपिँदै जान थालेको छ । 

विगतमा कतिपय कम्पनीले लिलामीमा राखेको सेयर कतिपय लगानीकर्ताले अपत्यारिलो मूल्यमै फुत्काएको घटनाले समेत अक्सनतर्फ अन्य लगानीकर्ताको चासो बढ्दै गएको देखिन्छ । बुद्धिमतापूर्वक लिलामीमा बोल लगाउन सके दोश्रो बजारभन्दा सस्तोमै सेयर पाइने संभावना भएकोले समेत यसरी आकर्षण बढेको देखिन्छ । 

यही क्रममा एक बिमा कम्पनीले अक्सनको अवसर शुक्रबार(आज)देखि नै खुलाएको छ भने बाँकी २ कम्पनीमा समेत सस्तोमा सेयर किन्ने अवसर निकट भविष्यमै आउँदैछ । 

सिद्धार्थ इन्स्योरेन्सले केही समयअघि निश्कासन गरेको ३५ प्रतिशत हकप्रद सबै बिक्री भएन । बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहतर्फको गरी कुल ३७ हजार २ सय १६.५० कित्ता सेयर शुक्रबारदेखि यो कम्पनीले अक्सनमा ल्याएको हो। 

संस्थापक समूहतर्फको ७९९.६० कित्ता र सर्वसाधारण समूहतर्फको ३६ हजार ४ सय १६.९० कित्ता सेयर लिलामीमा ल्याएको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछ । न्यूनतम प्रतिकित्ता १०० रुपैयाँको बोली लगाउनुपर्नेछ । 

अक्सनको व्यवस्थापनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ । 

यसैबीच, नेशनल लाइफ इन्स्योरेन्सले समेत निकट भविष्यमै निकै ठूलो परिमाणमा सेयरको लिलामी खुलाउने भएको छ । 

यो कम्पनीले हालै निश्कासन गरेको ६० प्रतिशत हकप्रद बाँडफाँड गरेको छ र सो क्रममा बिक्री नभएको २ लाख ७८ हजार १ सय १९.३० कित्ता सेयर लिलामीबाट बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

एनआइबिएल एस क्यापिटलले अक्सनका लागि बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदको सम्पूर्ण व्यवस्थापनपछि यो कम्पनीको चुक्तापूँजी २ अर्ब ६४ करोडको उचाईमा पुग्नेछ । 

यसैगरी, सेन्ट्रल फाइनान्स लिमीटेडले समेत हकप्रद निश्कासन गरेकोमा बिक्री नभएको ४ लाख ५६ हजार कित्ता संस्थापक सेयरको लिलामी खुलाएको थियो । सो क्रममा २ लाख १६ हजार ५ सय कित्ता संस्थापक सेयरका लागि मात्र सेयरधनीले आवेदन दिए । बाँकी रहेको २ लाख ३९ हजार ८ सय ८ दशमलव ७२५ कित्ता संस्थापक सेयर सर्वसाधारण लगानीकर्ताका लागि लिलामीमा राख्ने भएको छ । एनआइबिएल एस क्यापिटल लिमीटेड सेयर निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।