काठमाण्डौ । लिलामी बजार(अक्सन मार्केट)मा अहिलेसम्मकै सबैभन्दा धेरै कित्ता सेयरको लिलाम बिक्री आजदेखि खुलेको छ । 

बैंक अफ काठमाण्डूूले एफपीओ बिक्रीको अनुमति नपाएपछि कम्पनीमा सेयर स्वामित्व संरचना मिलाउने उद्देश्यले संस्थापक समूहको ६१ लख ५८ हजार ६७ कित्ता सेयरको आगामी मंसिर २२ गतेदेखि बिक्री खुलाएको हो । 

देशको अक्सन मार्केटमा हालसम्म कुनै पनि बैंक तथा बित्तीय संस्थाले यति धेरै कित्ता संस्थापक सेयर लिलामीबाट बिक्रीको प्रस्ताव गरेका थिएनन् । यसकारण यो बैंकले अक्सन मार्केटमा नयाँ इतिहास बनाउनेछ भने धेरै कित्ता लिलामीबाट बिक्री गर्नुपर्ने भएकोले शिलबन्दी बोलपत्र पेश गर्नेहरुले समेत बोल लगाएको मूल्यमा सेयर पाउने संभावना हुन्छ । 

शुक्रबार(आज)देखि खुलेको लिलामीमा इच्छुक लगानीकर्ताले मंसिर २९ गतेसम्म तोकिएको स्थानमा गएर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ मूल्य नघटाई आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम ६१ लाख ५८ हजार ६७ कित्ताकै लागि समेत बोलपत्र पेश गर्न सक्नेछन् । 

बैंकको हाल चुक्तापूँजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । संस्थापकतर्फको ६१ करोड ५८ लाख रकम बराबरको सेयरको लिलाम बढाबढ माध्यमबाट निश्कासनपछि बैंकको चुक्तापूँजी ६ अर्ब २४ करोड माथि पुुग्नेछ । 

संस्थापक सेयरको लिलामी गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक  र सर्वसाधाण सेयरधनी(कर्मचारी समेत)को सेयर स्वामित्व संरचना ५१ः४९ मा रुपान्तरण हुनेछ । 

कहाँबाट दिने आवेदन ?
अक्सन मार्केटमा सेयर खरीदका लागि उपत्यका बाहिरबाट पनि आवेदन दिन पाउने व्यवस्था भएसँगै यो बैंकको संस्थापक सेयरका लागि समेत काठमाण्डौ र मोफसलका केही जिल्लाहरुबाट आवेदन दिन सकिनेछ । बैंक अफ काठमाण्डूूको कमलादीस्थित केन्द्रीय कार्यालय तथा उपत्यकाभित्रका शाखा कार्यालयहरु, उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, विर्तामोड, धरान, बाग्लुङ र सुर्खेतस्थित कार्यालयबाट समेत शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । 

बैंकको सेयर निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ । यो मर्चेन्ट बैंकको नक्सालस्थित मुख्य कार्यालयबाट समेत बोलपत्र पेश गर्न सकिनेछ । 

यो बैंकको संस्थापक सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २७० रुपैयाँ रहेको छ ।