काठमाण्डौ । अक्सन मार्केटमा सेयर बिक्रीका लागि न्यूनतम मूल्य तोक्ने स्पष्ट मापदण्ड नहुँदा विकृति मौलाउन थालेको छ । लगानीकर्तालाई अनेक प्रलोभन र  प्रभावमा पारेर मनलागी न्यूनतम मूल्य तोकिँदा एउटै कम्पनीको उस्तै सेयरको मूल्य समेत फरक–फरक राखेर विभिन्न कम्पनी तथा समूहहरुले अक्सन नोटिस निकालिरहे पनि नियामक तै चूप मै  चूप छन् ।

पछिल्लो उदाहरण हो–नेपाल क्रडिट एण्ड कमर्स(एनसीसी) बैंकको संस्थापक सेयर । यो बैंकको संस्थापक सेयर अक्सनबाट बिक्रीका लागि बिहीबार र शुक्रबार २ समूहहरुले नोटिस निकाले । तर, दुवै समूहले लिलामीका लागि सेयरको न्यूनतम बोल दर भने फरक–फरक तोकेका छन् । 

यो बैंकमा रहेको ७० लाख कित्ता संस्थापक सेयर बिक्री गरेर संस्थाबाटै विदा हुन चाहेको एनबी ग्रुप नेपाल प्रालिले बिहीबार लिलाम सम्बन्धी सूचना निकाल्दै प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ मूल्य तोकेको छ । अर्थात, एनबी बैंकको  स्वामित्वमा रहेको संस्थापक सेयर खरीद गर्न चाहने लगानीकर्ताले न्यूनतम २१० रुपैयाँ प्रतिकित्ताका लागि मूल्य चुकाउनुपर्नेछ । 

तर, यो समूहले तोकेको न्यूनतम मूल्य धेरै रहेको लगानीकर्तालाई त्यसबेला मात्र अनुभूत भयो, जब शुक्रबार सोही बैंकमा आफ्नो स्वामित्वमा रहेको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीका लागि नेपाल इन्स्योरेन्स कम्पनीले लिलामी सम्बन्धी सूचना प्रकाशित गर्यो । तर, यो कम्पनीले प्रकाशित गरेको सूचनामा भने न्यूनतम मूल्य एनबी ग्रुपको भन्दा निकै कम तोकिएको छ । अर्थात, यो कम्पनीले न्यूनतम १७० रुपैयाँ मूल्य राखी सेयर लिलामीमा शिलबन्दी बोलपत्र पेश  गर्न इच्छुक लगानीकर्ताहरुलाई आग्रह गरेको छ । 

यो कम्पनीको संस्थापक सेयरको लिलामीमा माघ २१ गतेदेखि आवेदन दिन सकिने र माघ २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख छ । 

एनसीसी बैंकमा संस्थापकतर्फको स्वामित्वको हिसाबले एनबी ग्रुप तेश्रो ठूलो समूह हो भने नेपाल इन्स्योरेन्स पाँचौ ठूलो संस्थापक समूह हो । 

यसरी हेर्दा एनबी समूहको निकै ठूलो परिमाणको सेयर लिलामीलाई समेत प्रभावित पार्ने गरी इन्स्योरेन्सले त्योभन्दा कम मूल्यको अफर गरेको हुनसक्छ । इन्स्योरेन्सको यो कदमले एनसीसीको संस्थापक सेयर किन्न चाहने लगानीकर्तालाई फाइदै हुने देखिन्छ, तर एनबी ग्रुपले भने इन्स्योरेन्सले अफर गरेको नयाँ मूल्यका कारण प्रतिकित्तामा ४० रुपैयाँ गुमाउने प्रष्ट देखिन्छ । यो हिसाबले पनि एनबी समूहले बाध्य भई नेपाल इन्स्योरेन्सले तोकेको मूल्यमै झरी सेयर बिक्री गर्नुपरे उसले आफूले तोकेको  मूल्यबाट हुनसक्ने कुल आम्दानीमा २८ करोड भन्दा बढी घाटा व्यहोर्नुपर्नेछ ।

यो प्रकरणबाट १७० रुपैयाँ न्यूनतम मूल्य राखेर अक्सन मार्केटमा बिक्री गर्न सकिने सेयरका लागि एनबी ग्रुपले किन २१० रुपैयाँ मूल्य तोक्यो ? भन्ने प्रश्न स्वभाविक रुपमा उठेको छ । एक जानकारको भनाईमा अक्सन मार्केटमा भइरहेको मनपरी र लगानीकर्तालाई मूर्गा बनाई ठूला समूह मालामाल बन्ने खेलको एउटा उदाहरण मात्र हो एनसीसीको संस्थापक सेयरको मूल्यमा देखिको यो अन्तर । सम्बद्ध नियामक निकायले अक्सन मार्केटमा भइरहेको मिलेमतो र मनपरीको खेललाई समेत नियन्त्रण गर्नुपर्ने उनको भनाईछ । 

लगानीकर्ताहरुले भने अक्सन मार्केटमा हुने कारोबार तथा तोकिने मूल्यको बिषयमा समेत स्पष्ट मापदण्ड बन्नुपर्ने माग गरेका छन् । यसो गर्न सके मात्र  सेयर लिलामीको नाममा भइरहेको लुट रोकिने उनीहरु दाबी गर्छन् ।