काठमाण्डौ । अखाद्य लिच्ची जूस र अन्य फ्लेभरका जूस समेत नेपाली बजारमा पठाइरहेको प्रान ग्रुपबाट उत्पादित प्रान पोट्याटो क्र्याकरमा नक्कली नेपाली गुणस्तर चिन्ह(एनएस) प्रयोग भएको फेला परेको छ । 

लामो समयदेखि बिना रोकावाट स्वास्थ्यका लागि हानिकारक जूसहरु नेपालमा आपूर्ति गर्दै आएको प्रान समूहले अनुमतिबिना नै एनएस चिन्ह प्रयोग गरेको फेला परेपछि पोट्याटो क्र्याकर उत्पादन गर्ने उद्योगमा शिलबन्दी गरिएको छ ।

प्रान पोट्याटो क्य्राकर ओडीएटी फुड एण्ड वेभरेज प्रालिले उत्पादन गर्दै आएको छ, यो कम्पनी प्रानकै सहायक कम्पनी हो । प्रानले आफ्ना केही प्रडक्ट नेपालमै उत्पादन गर्छ भने लिच्ची लगायतका जूसहरु भने बंगलादेशमा उत्पादन गरी नेपाल निर्यात गर्ने गरेको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति लिएरमात्र गुणस्तर चिह्न प्रयोग गर्न पाइन्छ । तर, एनएस चिन्ह नलिएको कारण देखाउँदै पोट्याटो क्र्याकरमा शिलबन्दी गर्ने विभागले लिच्ची र अन्य खालका जूसमा प्रानले गरिरहेको फट्याई, लेभलबिना नै गरिरहेको बिक्री वितरण लगायतका गलत शैलीको बिषयमा भने चासो दिने गरेको पाइन्न । 

विभागले मूलपानीस्थित उद्योगमा बुधबार शिलबन्दी गरेको थियो । अनुगमनमा भेटिएको १३१ कार्टुन प्रान पोट्याटो क्र्याकरमा शिलबन्दी गर्नुका साथै सम्पूर्ण व्यवसायीलाई उक्त प्रान पोट्याटो क्र्याकर बिक्री नगर्न समेत विभागले निर्देशन दिएको छ ।

विभागले कुनै पनि उद्योगबाट उत्पादित बस्तुको गुणस्तर परीक्षण गरेपछि मात्र एनएस चिन्हका लागि सिफारिस गर्ने गर्छ ।