काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण सिंहमाथि महाअभियोग लगाउनुपर्नेसहितका माग राखी प्रा.डा. गोविन्द केसीले सोमबारदेखि पुनः आमरण अनसन थालेका छन् । 

त्रिवि शिक्षण अस्पतालका डा. केसीले लोकमान र सिंहलाई महाअभियोग लगाउने प्रक्रिया सुरु नभएसम्म अनसन नतोड्ने दृढतासहित नवौं आमरण अनसन सुरु गरेका हुन् । 

आठौं अनसनमा उनले लोकमानविरुद्ध मात्र महाअभियोगको माग गरेका थिए । तर नवौं अनसनमा आयुक्त सिंहको नाम पनि थप गरेका हुन् ।

डा. केसीले असोज ३ गतेदेखि अनसन थाल्ने बताएका थिए । तर सरकारले उनीसँग भएको पूर्व सहमति कार्यान्वयन सुरु गरिएको जानकारी गराएपछि र नयाँ स्वास्थ्यमन्त्रीको रुपमा गगन थापा आएपछि उनले पूर्वघोषित अनसन एकसाताका लागि स्थगित गरेका थिए । 

यो अवधिमा पनि आफ्ना माग र आफूसँग भएका पूर्व सहमतिप्रति सरकार गम्भीर नदेखिएपछि आमरण अनसन सुरु गरेको उनले जानकारी दिए । 

यसपटक केसीका मागमध्ये लोकमानमाथि महाअभियोग लगाउने प्रक्रियाको सुरुवात बाहेक चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, अख्तियारका आयुक्त राजननारायण सिंहमाथि पनि महाअभियोग लगाउनुपर्ने भन्दै उनले माग थपेका छन् । 

यस्तै, संसदमा विचाराधीन मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने, शुल्क निर्धारण समिति खारेज गर्नुपर्ने र यसअघिको सहमतिअनुसार आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने लगायतका माग राखेका छन् । 

स्मरण रहोस्, सरकारले पेश गरेको चिकित्सा शिक्षा ऐनलाई संसदले सैद्धान्तिक सहमति दिइसकेको छ । लोकमानको बिषयमा परेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।