-रमेश लम्साल 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । 

खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले आज छलफल गरेको हो । 

मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र कहिले धुवाँ र धुलोबाट मुक्त होइन्छ भन्दै नागरिकका तर्फबाट चासो र चिन्ता बढेपछि आयोगले आयोजनाका पदाधिकारीलाई बोलाएर छलफल गरेको आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आयोजनाको कार्यप्रगति र काठमाडौँ उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धुवाँ, धुलोले पारेको नकारात्मक प्रभावका बारेमा सम्बन्धित सरोकार निकायका प्रमुखसँग जानकारी लिँदै तत्काल पुनःनिर्माण गर्न निर्देशन दिनुभयो । 

सम्बन्धित निकायबीच समन्वयको अभावमा धेरै ठाउँमा कमजोरी देखिएको भन्दै प्रमुख आयुक्त बस्न्यातले काठमाडौँ उपत्यका खानेपानी आयोजनाको वितरण प्रणाली ठीक नभएको र नागरिकले शीघ्र रुपमा सेवा पाउने उपायका बारेमा सम्ब्न्धित पक्षलाई निर्देशन दिनुभयो । 

आयुक्त नवीनकुमार घिमिरेले मेलम्ची खानेपानी आयोजनाले जुन गतिमा काम गर्नुपर्ने हो त्यसअनुसार नभएको उल्ल्ेख गर्दै जनताको चासोका विषयलाई छिटो सम्बोधन गर्न आयोजनालाई आग्रह गर्नुभयो । 

जनताले मेलम्ची आयोजना कहिले सम्पन्न हुन्छभन्दा पनि धारामा कहिले पानी आउँछ भनेर चासो राख्ने गरेको भन्दै त्यसका लागि भइरहेका प्रयासका बारेमा प्रस्ट रुपमा जानकारी दिनुपर्ने दायित्व आयोजनाको हो कि होइन भनेर प्रश्न गर्नुभएको थियो । 

राष्ट्रिय गौरवको आयोजना भन्ने तर काम गर्ने प्रवृत्ति चाहिँ पुरानै शैलीको भएको भन्दै अर्का आयुक्त डा गणेशराज जोशीले ढिला गर्ने प्रवृत्तिको अन्त्य गरेर जिम्मेवारीबोधका साथ काम गर्न आयोजनाका अधिकारीलाई आग्रह गर्नुभयो । 

समस्या देखाएर पन्छने प्रवृत्ति बढ्दै गएको भन्दै अर्का आयुक्त डा सावित्री थापा गुरुङले समन्वय गरेर कार्य सम्पादन गर्नुपर्ने र आम नागरिकले अनुभव गर्ने गरी आयोजनाको काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

आयोगका सचिव राजन खनालले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यमा देखिएका कमजोरीलाई सुधार गरेर काठमाडौँको आवश्यकता पूरा गर्न सक्ने गरी आयोजनाको काम सम्पन्न हुनुपर्ने धारणा राख्नुभयो । 

मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सोही आयोजनाका परियोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले धेरैजसो पाइप बिच्छ्याइएको स्थानमा कालोपत्र र पुनःनिर्माणको काम भएको भए पनि केही स्थानमा भने नभएको बताउनुभएको थियो । 

पुनःनिर्माण गर्नुपर्ने स्थानमा आयोजनाले विशेष प्राथमिकतामा राखी धुलो र धुवाँ हटाउने कार्यलाई प्राथमिकता राखिएको बताउनुभएको थियो । आयोजनाको सुरुङ निर्माणको काम करिब सम्पन्न हुने चरणमा पुगेको र आगामी दुई हप्तामा अम्बाथान–ग्याल्थुम खण्ड ‘ब्रेक थ्रू’ हुने सम्पन्न हुने कार्यकारी निर्देशक देवकोटाको भनाइ थियो । उक्त खण्डमा सय मिटर सुरुङ खन्न बाँकी रहेको छ । 

देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक थ्रू गर्न बाँकी रहने र त्यो पनि केही समय भित्रै सम्पन्न हुने छ । उक्त खण्डमा ५१५ मिटर जति सुरुङ खन्न बाँकी रहेको छ । नरम चट्टान भएका कारण सुरुङ खन्न समस्या आएको आयोजनाले जनाएको छ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलब चार किलोमिटर लामो सुरुङ २०७३ पुसमा नै निर्माण सम्पन्न गरिएको थियो । 

कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले काठमाडौँको धेरै सवारी चाप हुने स्थानबाहेक अन्य क्षेत्रमा वितरणको पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भइसकेको र भत्काइएका सडक पुनः निर्माणलाई विशेष प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभएको थियो ।