काठमाण्डौ । ब्रेक्सिट(ब्रिटेन इयूबाट अलग हुने जनादेश)पछि चाँदीको भाउमा लगातार तीव्र रुपमा बढोत्तरी भइरहेको छ । ग्लोबल मार्केटमा शनिवार चाँदीको भाउले २ वर्षकै उच्च विन्दू चुमिसकेको छ । 

नेपालमा समेत चाँदीको भाउ आकाशिएको छ । शुक्रबार  र शनिवार प्रति तोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आइतबार एकैदिन तोलमा २० रुपैयाँले वृद्धि भई ८ सय ९० रुपैयाँ पुगेको छ । असार १४ गतेदेखि चाँदीको भाउमा लगातार वृद्धि भइरहेको छ । सो दिन प्रति तोला ८ सय १५ रुपैयाँ रहेको चाँदी ६ दिनकै अवधिमा तोलामा ७५ रुपैयाँले बढिसकेको छ । ग्लोबल मार्केटमा चाँदीको भाउको तीव्र गतिको बढोत्तरी रोकिने छाँट नदेखिनुले नेपाली बजारमा यसको भाउ अझ आकाशिने प्रक्षेपण गर्न थालिएको छ । 

भारतीय बजारमा समेत चाँदीको भाउ २ वर्षकै उच्च विन्दूमा पुगेको छ । त्यहाँ शनिवार प्रति किलोग्राममा ९६० भारु बढोत्तरी भई चाँदीको भाउ ४५ हजार ५ सय ६० भारुमा पुगेको छ । सन् २०१४ मई महिनामा चाँदीको भाउ ४५ हजार प्रति किलोग्रामको हाराहारीमा सीमित थियो । 

घरेलु र भाारतीय मार्केटको साथमा ग्लोबल मार्केटमा समेत चाँदी बढिरहेको छ । न्यूयोर्कमा चाँदीको भाउमा शनिवार ५.२ प्रतिशतको वृद्धि देखियो । त्यहाँ चाँदीको मूल्य प्रति औंस १९.५८ डलरमा पुगेको छ । 

किन बढिरहेको छ चाँदीको भाउ ?
विभिन्न कारणहरुले चाँदीको भाउ बढिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । चिनको खानी क्षेत्रमा रिकभरिको ट्रेन्ड देखिएको छ, यसले चाँदीको खपत बढाएको छ भने यसले ग्लोबल मार्केटमा चाँदीको भाउ उकालो चढिरहेको छ । यसअघि मार्च महिनामा अमेरिकामा सिल्भर(चाँदी)को आयात २० प्रतिशतले बढेर ५८२ टन पुगेको थियो, यो समेत एउटा रेकर्ड हो । 

विश्लेषकहरुका अनुसार चाँदी र सुन बीचको अन्तर अनुपात समेत कम हुन थालेको छ । पहिला चाँदी र सुनबीचको अन्तर ८३ गुणा थियो, हाल घटेर ७२ मा आइपुगेको छ । चाँदीको इण्डस्ट्रियल माग बढ्नुको साथै अन्तराष्ट्रिय बजारमा चाँदीको भाउमा देखिएको मजबुतीको असर घरेलु मार्केटमा पनि परेको हो । 

सुनको जस्तै चाँदीको भाउ पनि अन्तर्राष्ट्रिय बजारमा हुने घटबढले प्रभावित हुन्छ । ग्लोबल मार्केटमा देखिएको सकारात्मक संकेतका कारण चाँदीको मूल्यमा बढोत्तरी भइरहेको छ । चाँदी एक इण्डस्ट्रियल कमोडिटी हो, जनवरीदेखि मार्चको अवधिमा चीनको इण्डस्ट्रियल प्रोडक्सन वार्षिक आधारमा ५.८ प्रतिशत बढिसकेको छ । 

नेपाली विश्लेषकहरुका अनुसार सुनको जस्तै चाँदीको भाउ पनि अन्तर्राष्ट्रिय बजारमा हुने घटबढले प्रभावित हुन्छ । ग्लोबल मार्केटमा देखिएको सकारात्मक संकेतका कारण चाँदीको मूल्यमा बढोत्तरी भइरहेको छ । चाँदी एक इण्डस्ट्रियल कमोडिटी हो, जनवरीदेखि मार्चको अवधिमा चीनको इण्डस्ट्रियल प्रोडक्सन वार्षिक आधारमा ५.८ प्रतिशत बढिसकेको छ । 

सुन र चाँदीको मूल्यबीच सिधा सम्बन्ध हुन्छ । ग्लोबल मार्केटमा अनिश्चितता जारी छ । विश्लेषकहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले जम्मा गरेको रकम समेत खाताबाट निकालेर सुन र चाँदीमा लगानी गर्ने क्रम बढेको छ । यसले आगामी दिनमा पनि ग्लोबल मार्केटमा चाँदीको भाउ उकालो लाग्ने देखिन्छ, यसको प्रत्यक्ष असर नेपालको बजारमा समेत पर्ने निश्चित छ । 

ब्रिटेनपछि यूरो क्षेत्रबाट बाहिरिने पालो जर्मनीको आउनसक्छ । यसले ग्लोबल मार्केटमा अझ बढी आर्थिक अनिश्चितता बढाउनेछ । र, यस्तो अवस्थामा सुरक्षित लगानीका लागि सुन र चाँदीमा लगानीकर्ता बढी आकर्षित भई यसको माग बढ्ने र भाउ समेत आकाशिने संभावनाहरु बढी देखिन्छन । 

केही विश्लेषकहरुको भनाईमा सुनको बढ्दो मूल्यले चाँदीलाई समेत सपोर्ट हुन्छ । त्यसो त चीनमा चाँदीको कतिपय खानी बन्द भइसकेको छ । यसका कारण खानीको उत्पादन घटेको छ । तर ठीक उल्टो माग भने बढिरहेको छ । यसले आउने दिनमा चाँदीको मूल्यमा अझ बढोत्तरीको स्पष्ट संभावना देखाउँछ । जुलाईसम्ममा चाँदीको मूल्यमा अझ बढोत्तरी हुने आँकलन गरिएको छ । 

सुन समेत बढ्दै
ब्रेक्सिटका कारण असार १० र ११ गते प्रति तोला ५९ हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि सामान्य अंकको घटबढ देखिए पनि पछिल्लो केही दिनचाहि उकालो लाग्न थालेको छ । असार १६ गते ५८ हजार प्रतितोलामा कारोबार भएको सुन त्यसपछि क्रमशः बढिरहेको छ । १७ र १८ गते तोलामा ५ सय रुपैयाँले बढेर ५८ हजार ५ सयमा पुगेको सुन आइतबार प्रति तोलामा ३ सय रुपैयाँले वृद्धि भई ५८ हजार ८ सय पुगेको छ । सुनको भाउको बढोत्तरी समेत आगामी केही दिनसम्म देखिन सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुले दाबी गरेका छन् ।