काठमाण्डौ । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा ई–बीमाका तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउने धारणा राखे। 

अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने, ‘हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिला माध्यमहरु सिर्जना गर्नमा विश्वास गर्छौं र ई–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्मजस्तो देखिन्छ। हामी यस आबद्घसँग खुसी र आशावादी छौँ।’ 

सम्झौताअनुसार ई–बीमाले संस्थागत एजेन्सीका रुपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरुलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरु प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउनेछ। 

ई–बीमाले नेपालमा भएका सबै बीमासम्बन्धी सेवाहरुका लागि एक– स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरुलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ। ई–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरुलाई डिजिटलाइज गर्न सक्रिय छ। ई–बीमाको सेवा गैरजीवन बीमा योजनाहरु र उत्पादनहरुमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरु र अन्य क्षेत्रहरुमा आफ्ना ग्राहकहरुलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरु प्रदान गर्न सक्रिय रुपमा संलग्न छ। ई–बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरुका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ। 

अजोड इन्स्योरेन्स अग्रणी वाणिज्य बैंक, बैंकर र विभिन्न क्षेत्रहरुबाट सफल क्यारियर इतिहास भएका उच्च उत्साही पेसेवरहरुद्वारा स्थापित र समर्थित इन्स्योरेन्स हो।