काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा युनाइेटड अजोड इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। 

गत असार ३१ गते नेप्सेमा मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्सको नाममा सेयर सूचीकृत भएलगत्तै दोस्रो बजारमा यो कम्पनीको सेयर उच्च खरिद माग भइरहेको नेप्सेको तथ्यांकले देखाउँछ। 

साबिक युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनी आपसमा मर्जरमा गई एकीकृत कारोबार सुरु गर्नका लागि नेप्सेसमक्ष सेयर कारोबार रोक्का राख्न अनुरोध गरेबमोजिम नेप्सेले गत जेठ १४ गतेदेखि लागू हुने गरी धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने–गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम यी दुवै कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो। 

डेढ महिना रोक्का रहेको युनाइेटड अजोड इन्स्योरेन्सको सेयर नेप्सेले असार ३१ गतेदेखि फुकुवा गरिदिएको थियो। आजसहित ३ दिनको कारोबारमा यो कम्पनीको सेयर टप टर्नओभर, टप गेनर र टप डिमान्डको लिस्टमा परेको छ। 

आज यो समाचार तयार पार्दासम्म युनाइटेड अजोड इन्स्योरेन्सको सेयर १७ जनाले १ लाख बढी कित्ता सेयर खरिद माग गरेका छन्। धितोपत्रमा उच्च खरिद माग बढ्दै जाँदा कम्पनीको सेयरभाउसमेत ७.०६ प्रतिशत अर्थात ४८.८० रुपैयाँले बढेर ६३४ रुपैयाँ पुगेको छ। 

यो कम्पनीको सेयर डेढ महिनायता होल्ड गरिबसेका लगानीकर्ताले समेत सेयर खरिदबिक्री गरेका छन्। यो समाचार तयार गर्दासम्म कम्पनीको सेयर सर्वाधिक १७ करोड रुपैयाँ बढी कारोबार भइसकेको छ। 

युनाइटेड र अजोड इन्स्योरेन्स १००ः८२.५ रेसियोमा मर्ज भएका हुन्। यसर्थ साबिक अजोड इन्स्योरेन्सको १० कित्ता सेयर हुने सेयरधनीले अब युनाइेटड अजोडको ८.२५ कित्ता सेयर पाउनेछन्।

मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुगेको छ। बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी साढे २ अर्ब पुर्याउन कम्पनीले अझै ५९ करोड ५४ लाख रुपैयाँ पुँजी थप्नुपर्नेछ। 

प्राधिकरणले न्यूनतम चुक्तापुँजी पुर्याउन प्रयास गर्ने कम्पनीलाई बोनस वा हकप्रद जारी गर्न दिने जनाएको छ। यसर्थ युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद बिक्रीमार्फत वा बोनस सेयर जारी गरेर पुँजी वृद्धि गर्न सक्नेछन्।