काठमाण्डौ । अर्थमन्त्रीमा नियुक्त भएको पहिलो दिन नै डा. प्रकाशशरण महतले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्राथमिकताका साथ भेटे । नियुक्तिलगत्तैको भेटमा अर्थमन्त्री डा. महतले प्रष्ट रुपमा गभर्नरलाई बैंक ब्याजदर घटाउने हिसाबले काम गर्न निर्देशन मात्र दिएनन्, अर्थतन्त्रको समस्या समाधानका लागि मिलेर अगाडि बढ्न प्रस्ताव पनि राखे।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा राजनीतिक पूर्वाग्रह राखेर काम गरेको संगीन आरोप खेपेका गभर्नर अधिकारीका लागि यो पटक अवसर पनि थियो । गभर्नर अधिकारी पनि अर्थमन्त्रालयसँग सहकार्य गरेरै मात्र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिन्छ भन्ने निश्कर्षमा पुगिसकेका थिए । अर्थमन्त्रीको प्रस्तावलाई उनले सकारात्मक रुपमा लिए र त्यसपछि उनीहरुबीच अन्य चरणका छलफल पनि भए । 

अर्थमन्त्रीमा नियुक्त भएको ११ दिनमा डा. महतले गभर्नर अधिकारीलाई ३ पटकसम्म मन्त्रालयमै बोलाएर घनिभूत छलफल गरे । यसले समेत डा. महतले हालको संकट समाधानमा राष्ट्रबैंकको महत्वपूर्ण भूमिका रहेको प्रष्ट सन्देश दिएका देखिन्छ । केन्द्रीय बैंकको सहयोगबिना ब्याजदर पनि नघट्ने र अहिलेको समस्या समाधान भई सुस्त सेयर बजार पनि नबढ्ने डा. महतले बुझिसकेका थिए । यहीकारण नियुक्त भएको दिनदेखि नै उनले गभर्नरलाई कन्फिडेन्समा लिएर काम सुरु गरे। 

यो बीचमा एकातिर गभर्नरलाई कन्फिडेन्समा लिएर काम गरे भने अर्कोतिर प्रधानमन्त्री पुष्पकमल दाहाललाई कन्भिन्स गरी सार्वजनिक रुपमै ब्याजदर घट्ने भाषण गर्न लगाएर गभर्नरमाथि थप दवाब सिर्जना गर्न उनी सफल भए । फलस्वरुप हिजो(मंगलबार) गभर्नरले चालु आर्थिक वर्षको ८ महिनाको आर्थिक तथा वित्तीय अवस्था भन्न भन्दै पत्रकार सम्मेलन गरे । यसको नाममा वित्तीय क्षेत्रमा कुनै समस्या नरहेको, अर्थतन्त्र ठीकठाक रहेको र बैंक ब्याजदर पनि घट्दै जाने अवस्था रहेको लगायतका सन्देश दिन सफल भए । पत्रकार सम्मेलनमा गभर्नरबाट व्यक्त विचार र उनले गरेका संकेतहरुबाट प्रष्ट थियो, बजारमा कतिपयले हल्ला गरेजस्तो ब्याजदर घट्दैन भन्ने कुरा मिथ्या सावित हुँदैछ । केही न केही पाक्दैछ । 

बुधबार बिहान भइदियो त्यस्तै । बुधबार बैंकहरुले ब्याजदर घटाउने निर्णय गरे । यो निर्णयको पृष्ठभूमि भने मंगलबार नै तयार भइसकेको थियो । बैंक तथा वित्तीय संस्था सञ्चालक संघ(सिबिफिन)का अधिकारीहरुले मंगलबार नै गभर्नरसँग भेटेर ब्याजदर घटाएर जानुपर्ने अड्डी कसेका थिए । 

छलफलका क्रममा गभर्नर पनि निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउन तयार भएका थिए । यो विषय सिविफिनका अध्यक्ष पवन गोल्यान र उपाध्यक्ष भोजबहादुर शाहले मंगलबार नै सार्वजनिक गरेका थिए । गोल्यानले त मंगलबार नै निक्षेपको ब्याजदर घटेर एकल अंकमा आउने भन्दै ९.९९ प्रतिशत ब्याजदर कायम हुने ठोकूवा नै गरेका थिए । 

अन्ततः बुधबार पनि ठ्याक्कै त्यस्तै निर्णय भयो । यसको अर्थ बुधबार एनबीएले ब्याजदर घटाउन भनेर गरेको निर्णय हठात आएको थिएन । एनबीएलाई ब्याजदर घटाउन गभर्नरले नै भनिसकेका थिए भन्ने कुरा प्रष्ट देखिन्छ । 

ब्याजदर घटेसँगै सेयर बजारले उत्साहप्रद प्रतिक्रिया दिएको छ । आज बजार एकैदिन ९२ अंकभन्दा बढीले बढेर बन्द भयो । कारोबार रकम पनि २ अर्ब हाराहारी पुग्यो । 

पछिल्लो समय सेयर बजारको घटबढलाई अर्थमन्त्रीको प्रतिष्ठा तथा सफलता वा असफलतासँग जोडेर हेर्ने गरिएको छ । सेयर बजारलाई अर्थमन्त्रीसँग जोडेर हेर्नेहरुका लागि बुधबार बजार बढेको न्यूज सुखद नै मान्नुपर्छ । 

सेयर बजारमा बुम आएपछि यसले अर्थमन्त्रालयमा पनि उत्साह देखिएको छ । अर्थमन्त्रीका स्वकीय सचिव उत्तम पाठकले राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिलेका कारण पनि ब्याजदर यति चाँडै घटाउन सकिएको दाबी गरे । 

उनले अर्थमन्त्रीले सुरुवातदेखि नै चाहेको कुरा बुधबार ब्याजदर घटेर पूरा हुने अवस्था देखिएपछि त्यसले अर्थमा समेत उत्साह ल्याएको बताए । ‘अर्थमन्त्री ज्यू पनि खुशी हुनुहुन्छ ।’ पाठकले भने–‘उहाँले सुरु गरेको अभियान सफल हुन थालेको छ । उहाँले गभर्नरलाई कन्फिडेन्समा लिएर काम गरिरहनुभएको छ । त्यसकै रिजल्ट देखिन थालेको हो ।’ 

पाठकले अर्थमन्त्री महत ब्याजदर अझै घट्नुपर्ने पक्षमा रहेको समेत दाबी गरे । ‘ब्याजदर अझै घटेपछि मात्र अर्थतन्त्र चलायमान हुन्छ भन्ने उहाँको बुझाई छ ।’ बिजशालासँग कुरा गर्दै पाठकले थपे–‘तर आउँदा दिनमा पनि राष्टबैंकको सहयोग र सहकार्य चाहिन्छ । राष्ट्रबैंकलाई अर्थमन्त्रालयले सोझै हस्तक्षेप गर्न सक्दैन र मिल्दैन पनि ।’ 

अर्थमन्त्रीले गभर्नरलाई ११ दिनमा ३ पटक भेटिसकेका उल्लेख गर्दै उनले निरन्तर संवादमा उठेका कुराहरुको कार्यान्वयनमा गभर्नर पनि सकारात्मक देखिएका बताए । 

अर्को एक प्रसंगमा पाठकले अर्थतन्त्रको विषयमा जानकार व्यक्ति अर्थमन्त्री भएकोले पनि ब्याजदर घट्न सम्भव भएको दाबी गरे । ‘अरु अर्थमन्त्रीलाई जस्तो उहाँ(डा. महत)लाई झुक्याउन नसकिने भएर पनि अब सबै कुरा मिल्दै जाने संकेत देखिएको हो ।’–उनले थपे । 

अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाले बुधबार सेयर बजारमा उछाल आउँदा अर्थमन्त्रालयमा उत्साह थपिएको प्रष्ट पारे । ‘हामी पनि खुशी छौं । सेयर बजारका लगानीकर्तामा मात्र होइन, अब अरु लगानीकर्तामा पनि यस्तै उत्साहको अवस्था आउनुपर्छ । यही कुरालाई ध्यानमा राखेर अर्थमन्त्री ज्यू र उहाँको टिम(हामी)ले काम गरिरहेका छौं ।’ उनले थपे–‘अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न हामी कटिबद्ध छौं । जनताको विश्वास र उत्साहलाई टुट्न दिंदैनौं ।’