►राजाराम कार्की 
काठमाण्डौ । नेपालले आगामी एक वर्षभित्र अण्डा आयात गर्नु नपर्ने भएको छ । 

सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको पशुपंक्षी विभागले जनाएको छ । 

नेपाली व्यापारीले व्यावसायिक रुपमा अन्डाको आयात गरेका छैनन् । यद्यपि खुल्ला सिमानाका कारण भारतबाट अण्डा आयात रोकिएको छैन भन्छन्, नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी । संघका अनुसार हाल दैनिक २० लाखवटा अण्डा व्यावसायिक रुपमा उत्पादन भइआएको छ । नेपालीको अण्डा खाने बानी विस्तारै बढेकाले उत्पादन बढाउन अनिवार्य भएको अन्डा व्यवसायी रामकुमार श्रेष्ठले बताए । 

अहिले बजारमा अन्डाको खुद्रा मूल्य प्रतिवटा रु १३ तिर्नुपर्छ । व्यापारीले रु ११ तिरेर अन्डा आयात गर्दा वार्षिक रु एक अर्ब १० करोडको अन्डा भारतबाट आयात हँुदै आएको अनुमान गरिएको छ । 

पशुपक्षी विकास मन्त्रालयको तथ्याङकअनुसार हाल वार्षिक ९० करोड वटा अन्डा यहाँ उत्पादन हुन्छ । आगामी एक वर्षपछि सो उत्पादनमा ११ दशमलव ११ प्रतिश वृद्धि गर्न सक्दा मात्र एक वर्षभित्र नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर हुने लक्षण देखिन्छ । व्यावसायिक रुपले अन्डा उत्पादन हुँदा वार्षिक ७२ करोड वटा र ग्रामीण क्षेत्रमा स्थानीय जातका कुखुराबाट १८ करोड गरी ९० करोडवटा अन्डा स्वदेशमा उत्पादन हुने गरेको संघले बताएको छ । 

आगामी वर्ष अन्डामा आत्मनिर्भर हुन सरकारले साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । सो कार्यक्रम पूर्णरुपमा लागू भएपछि यहाँ वार्षिक झन्डै एक अर्बवटा अन्डा उत्पादन हुने अनुमान गरिएको छ । 

स्थानीय जातको कुखुराको अन्डा उत्पादन वर्षमा करिब ७०/८० वटा मात्र हुन्छ भने सोही अवधिमा व्यावसायिक कुखुराले वार्षिक २८० देखि ३०० अन्डासम्म उत्पादन गर्नसक्छ । 

नेपालको ग्रामीण क्षेत्रमा भएका कुखुराको व्यावसायिक रुपमा पालन गरी प्रतिस्थापन गर्न सक्दा हालको उत्पादन ४५ प्रतिशतले बढ्न जान्छ ।

नेपालमा प्रतिवर्ष कुखुराको संख्या करिब चार करोड ८० लाख ७९ हजार पुग्ने अनुमान छ । यसमध्ये अन्डा दिने कुखुरा ८३ लाख ५० हजार रहेको र तिनीहरुबाट वार्षिक ९० करोड वटा अन्डा उत्पादन हुन्छ । कुल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अन्डा उपलब्धता छ । यसलाई एक वर्ष्भित्र ४८ पु¥याई देशलाई अन्डाको क्षेत्रमा आत्मनिर्भर बनाउनु एक चुनौतीपूर्ण कार्य हो । 

वर्षमा ग्रामीण क्षेत्रमा स्थानीय नश्लका कुखुराबाट औसतमा ७० देखि ८० वटा उत्पादन हुने भएकाले आशातित सफलता प्राप्त गर्न नसकिएको पशुपक्षी विकास मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

मन्त्रालयले ४० जिल्लामा २०० कृषक परिवारमा व्यावसायिक फार्म स्थापना गरी अन्डा उत्पादन गर्ने नीति लिएको छ । आगामी एक वर्ष्भित्र थप १५ करोड अन्डा उत्पादन गरी देशलाई अन्डामा आत्मनिर्भर गर्ने लक्ष्य मन्त्रालयले लिएको हो । 

एसियाली मुलुकमा ख्याति कमाएका कुखुराको जातलाई व्यावसायिक पालनमा वृद्धि गरिने, त्यस्ता चल्ला वितरण गरिने, सस्तो ब्याजमा समूह, सहकारी तथा व्यक्तिगत फार्मलाई ऋण लगानी र बिमामा प्रेरित गरी पहाडी जिल्लामा खोलिएका दाना उद्योगमा सौर्य ऊर्जा जोड्न अनुदान दिने र व्यावसायिक बनाउने लक्ष्य अनुरुप कार्य भइरहेको बताइएको छ ।