काठमाण्डौ । सरकारले देशभर दैनिक ज्याला मजदूरी गर्ने र अति विपन्न परिवारका लागि विशेष राहात प्याकेज घोषणा गर्ने भएको छ । 

आइतबार बस्ने मन्त्रीपरिषद बैठकबाट यस्तो राहात प्याकेज घोषणाको निर्णय हुन लागेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल निकट स्रोतले जानकारी दिएको हो । 

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले एक साता लामो लकडाउन घोषणा गरेको छ र यो अझै लम्बिने अवस्था छ । लामो समयसम्म मुलुक ठप्प हुँदा अति विपन्न परिवारले कामको अभावमा भोकमरी व्यहोर्नुपर्ने निश्कर्ष निकाल्दै सरकारले त्यस्ताका लागि विशेष राहात प्याकेज ल्याउने तयारी गरेको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अन्य साना दल, नागरिक समाजका अगुवा लगायतबाट दैनिक ज्यालादारी मजदूर तथा अति विपन्न परिवारलाई दुईछाक टार्नसक्ने गरी सरकारले तत्काल राहात प्याकेज ल्याउनुपर्ने निरन्तर सुझाव आइरहेको छ । अन्तराष्ट्रिय निकायबाट समेत सरकारलाई अति विपन्नका लागि राहात प्याकेज घोषणाको निरन्तर दवाब छ । 

सरकारमाथि लामो लकडाउनका कारण समस्यामा परेको अर्थतन्त्रलाई गति दिने गरी छुट्टै राहात प्याकेज घोषणाको दवाब समेत छ । तर, आइतबार बस्ने मन्त्रीपरिषद बैठकले पहिलो चरणमा अति विपन्न र दैनिक ज्यालादारी गर्नेहरुका लागि विशेष राहात प्याकेज घोषणा गर्ने स्रोतको दाबी छ । 

‘राहात प्याकेज घोषणाको विषयमा प्रधानमन्त्री समेत सकारात्मक बन्नु भएको छ । यो विषयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडाले शनिवार बालुवाटार पुगेर प्रधानमन्त्री ज्यूसँग समेत छलफल गरिसक्नु भएको छ ।’ स्रोतले भन्यो–‘मोडालिटीको विषय टुंगिसकेको छैन, तर राहात प्याकेज ल्याउनेमा सबै सहमत देखिनुभएको छ ।’ 

सरकारले यसअघि आइतबार(भोलि) मध्यरातिसम्म अन्तराष्ट्रिय नाकाहरु बन्द गर्ने निर्णय गरेकोमा यसमा समेत थप केही दिन नाका बन्दलाई जारी राख्ने निर्णय हुँदैछ । 

स्रोतका अनुसार आइतबारकै मन्त्रीपरिषद बैठकले जारी सात दिने लकडाउनको अवधि बढाउने निर्णय समेत लिनसक्ने संभावना छ । 

देशमा प्रत्येक दिनजसो कोरोना भाइरसका नयाँ संक्रमित फेला पर्न थालेसँगै संक्रमण फैलिने जोखिम बढ्दै गएको र यसको नियन्त्रणका लागि लकडाउन लम्ब्याउनुको अर्को विकल्प नरहेकामा सरकारका सबै मन्त्रीहरु सहमत छन् । यसकारण समेत आइतबार नै लकडाउन समेत लम्ब्याउने निर्णय हुनसक्ने स्रोतको दाबी छ । 

राष्ट्रपतिको चासो
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको प्रकोप रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेका प्रयासहरुको विषयमा चासो दिएकी छिन् । 

ती प्रयासहरुको विषयमा जानकारी गराउन शनिवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा. युवराज खतिवडा शितल निवास पुगेका थिए । सो क्रममा उनीहरुले राष्टपति कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि भइरहेको प्रयासको विषयमा व्रिफिङ गरेका थिए । 

उनले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामाग्री अभाव भएको आफूले सुनेको उल्लेख गर्दै अपडेट मागेकी थिइन्। सरकारको तर्फबाट उपप्रधानमन्त्री पोखरेलले व्रिफिङ गरेका थिए । 

राष्ट्रपतिसँग भेटेपछि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शनिवार नै छलफल समेत गरेका उनी निकट स्रोतले जनाएको छ ।