काठमाण्डौ । यही चैत १ गते मात्र औपचारिक उद्घाटन गरिएको रत्नपार्कस्थित वायु गुणस्तरमापन यन्त्रले आइतबारदेखि काम गर्न छोड्यो ।  

वातावरण विभागका प्राविधिक कर्मचारीको दिनभरिको प्रयास सफल हुन नसकेपछि आइतबार रातिसम्म पनि यो यन्त्र फेरि सञ्चालन हुन सकेन । 

एक हप्ताअघि उद्घाटन गरिएको वायुगुणस्तर मापनयन्त्र बिग्रनुको कारण एउटै थियो, उपत्यकाको अधिक प्रदूषणयुक्त वायु ।  उपत्यकाभित्रको वायु यति बढी मात्रामा प्रदूषित रहेछ कि जसले मापन गर्ने यन्त्रको फिल्टर नै बिग्रयो ।  

मापन गर्ने फिल्टरमा ठूलठूला धूलो, माटोका कणहरू छिरेर फिल्टर नै काम गर्न नसक्ने भएपछि आइतबारदेखि यन्त्रले काम गर्न छोडेको हो ।  

दिनभर वायु गुणस्तर मापन यन्त्रको मर्मत सम्भारमा खटिएका विभागका सिनियर डिभिजनल केमिस्ट पौडेलले भने, ‘मेसिनको फिल्टर फेर्नुपर्ने देखिएको छ, प्रदूषित वायुका बाक्ला कणहरू फिल्टरभित्र छिरेर फिल्टरले काम गर्न नसक्ने भएको छ, सञ्चालनमा आउन केही दिन लाग्छ ।’ विभागले उपत्यकाभित्र रत्नपार्क र पुल्चोक, कपिलवस्तु र चितवनको सौराहामा वायु गुणस्तर मापन यन्त्र जडान गरी नियमित वायु प्रदूषणको अनुगमन गर्दै आएको छ ।  

जथाभावी सडक खन्नु, मेलम्ची खानेपानीको पाइप लाइन बिछ्याउने कार्य महिनौँ दिनसम्म पनि पूरा नहुनु, २० वर्ष पुराना सवारी साधनको प्रयोग, बस्ती नजिक चिम्नी ईँट्टा उद्योग सञ्चालन हुनु लगायतका कारणले उपत्यकाका वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा पाँच गुणा बढी प्रदूषित भएको पाइएको छ ।  

विभागले गत जनवरी ६ देखि ८ सम्म दुई दिनसम्म गरेको अनुगमनमा उपत्यकाको वायुमा १० पीएमका कण मिश्रित २७३ माइक्रोग्राम घनमिटर पाइएको छ ।  औसत मापदण्ड १२० माइक्रो घनमिटर मात्र हुनुपर्ने हो ।  यो गुणस्तरको वायुमा मिसिएका कणहरू घाँटीसम्म सजिलैसँग पुग्न सक्छन् ।  त्यसैगरी २.५ पीएमका कण मिश्रित २०९ माइक्रो घनमिटर पाइएको छ ।  औसत मापदण्ड ४० माइक्रो घनमिटरमा सीमित हुने पर्ने हो  ।  

यस्तो किसिमको वायुसँग मिसिएका कण सोझै मानिसको फोक्सोसम्म पुग्नसक्ने र स्वास प्रश्वाससम्बन्धी रोग लाग्ने बढी सम्भावना रहन्छ ।  

विश्व स्वास्थ्य सङ्गठनले पछिल्ला केही वर्षयता उपत्यकाका अस्पतालमा उपचार गर्न आउने श्वास प्रश्वाससम्बन्धी रोगीको सङ्ख्या निकै वृद्धि भइरहेको भन्दै वायु स्वच्छतासम्बन्धी नीति अविलम्ब प्रभावकारी रूपमा अवलम्न गर्न आग्रह गर्दै आएको छ । त्यसैगरी विभागको सो अनुगमनमा हावामा के र कति कणहरूको समिश्रण भएको छ भनेर गरिएको अध्ययन (टीएसपी) ५६८ माइक्रो घनमिटर देखिएको छ ।  

औसत मापदण्ड २३० माइक्रोघन मिटर मानिन्छ ।  वातावरणविद् दिनेश भण्डारीले भने, “वायु गुणस्तर मापन यन्त्रको फिल्टरलाई बिगार्न सक्ने हाम्रो वायुको प्रदूषणको मात्रा छ भने मानिसको स्वास्थ्य कति बिग्रेला र बिग्रिरहेको होला, यो कुराप्रति सम्बन्धित निकाय सचेत हुनु जरुरी छ ।  ” वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले भने, “यो समाजका सबै वर्ग र तप्कालाई असर पर्ने कुरा हो ।  वातावरण प्रदूषणलाई सुधार गर्ने कुरा एउटा विभागको मात्र हो भन्ने होइन, विभागले सक्दो अनुगमन गर्दै रहेको छ तर सबै जिम्मेवार नहुँदाको परिणति यस अवस्थामा पुगेका छौँ । ” 

हाल विभागसँग १६ जना वातावरण निरीक्षक मात्र छन् ।  ती निरीक्षकले देशभरको वातावरण प्रदूषणको अनुगमन गर्नुपर्ने जिम्मेवारी छ ।  ‘साधन स्रोतको कमी हुनु त हाम्रो साझा समस्या हो तर पनि रातविरात अनुगमन गरिरहेका छौँ’, विभागका महानिर्देशक दवाडीले भने ।  

आइतबार राति पनि विभाग र काठमाडौँ महानगरपालिकाका कर्मचारीले उपत्यकाका विभिन्न स्थानका संयुक्त अनुगमन गरेको छ ।  

विभागका अधिकारीका भनाइमा सडक खन्ने निकाय, यातायातका साधन व्यवस्थित गर्ने निकायले आफ्ना कार्यशैली कानुनसम्मत ढङ्गले कार्यान्वयन नगरुन्जेल अझै उपत्यकाका वायु प्रदूषण हुने क्रम रोकिने छाँटकाँट छैन । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।