कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५)का लागि कतारनिवासी राजेन्द्र कुमार (आर.के.) शर्माले एक समारोहका बीच अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन्।

कतारको राजधानी दोहास्थित र्याडिसन ब्लु होटेलमा बुधबार उम्मेदवारी घोषणासभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन्। ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरे।

संघका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरुको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरु ल्याएको बताए। यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एकढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे। 

बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आईसीसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु। त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु। तपाइँ हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ।’

‘अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन। मैले त तपाइँ हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ’, उनले भने, ‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु। ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु।’ 

आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले वाचासमेत गरे। शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भइसकेको उनले जिकिर गरे।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आईसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरे। हाल उनी संघको आईसीसी उपाध्यक्ष हुन्।

नेपालको बागलुङ जिल्लामा २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए। कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकान्टेन्टका रुपमा जागिर सुरु गरे। हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन्।