Matrika Paudel
काठमाण्डौ । अनलाइन संचारमाध्यम बन्द गर्ने प्रावधानसहितको निर्देशिकाका कारण प्रमुख सत्तासीन दल नेकपा एमालेमा भूकम्प गएको छ । पार्टीको छवि नै धूमिल हुने गरी अनलाइन संचालन निर्देशिका तयार भएको र यसमा केही अलोकतान्त्रिक बुँदाहरु बदनियतपूर्वक राखिएको र यो कार्यमा प्रमुख भूमिका निर्वाह गरेको भन्दै पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाले संचारमन्त्रीका प्रेस सल्लाहकार मातृका पौडेलको राजीनामा मागे लगत्तै उनले राजीनामा दिएका छन् ।
स्रोतका अनुसार अनलाइन संचालन निर्देशिकामा केही तानाशाही बुँदा राखेर अनलाइन मिडियाहरु नै सिध्याउन खोजिएको भन्दै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट विरोध भइरहँदा यसले पार्टीभित्र समेत भूकम्प ल्याएको हो । पार्टीले अनलाइन संचालन निर्देशिकामा बदनियतपूर्वक केही गलत बुँदाहरु राखिएको फेला परेको भन्दै सो कार्यमा प्रमुख भूमिका निर्वाह गर्ने र आवश्यक समन्वय समेत गर्न नसकेका संचारमन्त्रीका प्रेस सल्लाहकार पौडेलको राजीनामा मागेको थियो ।
पार्टी केन्द्रले अनलाइन संचालन निर्देशिकाले अन्तर्राष्ट्रिय स्तरमा समेत एमालेको बिषयमा भ्रम फैलिएको र यसले पार्टीको छवि धूमिल बनाएको भन्दै कहाँ र कोबाट यस्तो काम भएको हो, छानबिन गर्न प्रचार विभागलाई निर्देशन दिएको थियो । यो बिषयमा गम्भीर भएर लाग्न र दोषीहरुको शीघ्र पहिचान गर्न भन्दै पार्टी निकट प्रेस चौतारी नेपाललाई पनि कडा निर्देशन दिइएको थियो । सोही अनुसार बिहीबार बागबजारको हार्दिक होटलमा पार्टीको प्रचार विभागका हाइलेभलका नेता, प्रेस चौतारीका केही नेता र संचार सल्लाहकार पौडेल लगायतको सहभागितामा गोप्य बैठक राखिएको थियो । सो बैठकमा पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाले संचारमन्त्रीको सल्लाहकार पदबाट तत्काल राजीनामा गर्न पौडेललाई कडा निर्देशन दिएका थिए । उनले संचारमन्त्रालय मातहतका निकायले निरकुंश व्यवस्थासहितको अनलाइन संचालन निर्देशिका तयार गर्दा समेत पौडेलले राम्रो भूमिका निर्वाह नगरेका, केही ठूला अनलाइन मिडियाको हितलाई मात्र ध्यानमा राखेर बदनियतपूर्वक निरकुंश शैलीका बुँदा राखिएको, जानी जानी साना अनलाइन मिडियालाई बन्द गर्न खोजिएको र यो कार्यमा पौडेल मौन बसेका भन्दै आपत्ति जनाएका थिए । ‘आफ्नै पार्टीलाई सिध्याउने यस्तो काम भइरहँदा पनि केही नहेर्ने हो भने त्यो पदमा बसिरहनुको अर्थ छैन ।’ उनले पौडेललाई थर्काउँदै भनेका थिए–‘पार्टी हाइकमाण्डको चाहना पनि हो यो, तपाईंले तुरुन्त राजीनामा दिनुहोस् ।’
प्रचार विभाग प्रमुखले नै बैठकमा राजीनामा दिन स्पष्ट निर्देशन दिएपछि सल्लाहकार पौडेलले बिहीबार अपरान्ह संचारमन्त्री शेरधन राई समक्ष आफ्नो राजीनामा बुझाएका छन् । पौडेलले पार्टीको निर्देशन अनुसार आफूले राजीनामा गरेको बताए ।
मन्त्रीपरिषदले जेठ ३१ मा संविधानको प्रावधानविपरीत प्रकाशित सामाग्रीको आधारमा अनलाइन संचारमाध्यम संचालन निर्देशिका २०७३ जारी गर्ने निर्णय गरेकोििथयो । आधिकारिक स्रोत नभएका, भ्रम फैलाउने र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पुर्याउने लगायत सामाग्री प्रकाशन गरे प्रकाशन अवरुद्ध गर्नसक्ने निर्देशिकाको प्रावधानको संचारसम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले विरोध गरेका थिए । पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल, नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस युनियन, आइएफजे लगायतले समेत अनलाइन निर्देशिका संविधानको मर्म अनुसारको बन्नुपर्ने भन्दै खारेजीको माग गर्दै आइरहेका छन् ।
यसैबीच, प्रेस चौतारी नेपालले बिहीबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै अनलाइन संचालन निर्देशिका फिर्ताको माग गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19