काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाका कारण लगानीकर्ता आजित भई निस्क्रियता बढेसँगै बजारमा चमक आउन सकेको छैन ।
नेप्सले अनलाइन कारोबार प्रणालीप्रतिको विश्वसनीयता बढाउन नसक्दा यसको नकारात्मक प्रभाव लगानीकर्ताको मनोविज्ञानमा परिरहेको छ ।
नेप्सेको चरम लापरबाहीका कारण ३ महिनासम्म लगानीकर्ता र ब्रोकरका गोप्य सूचना दुरुपयोग हुने गरी लिक गरिएको विषय र अनलाइन कारोबार प्रणालीमा दैनिकजसो आउने बग्रेल्ती समस्या समाधानमा नेप्से गम्भीर नभएको बिषयले लगानीकर्तामा उत्साह आउन नसकेको हो ।
यसैको प्रतिक्रिया बजारमा हरेक दिनजसो देखिइरहेको छ । यसै सिलसिलामा मंगलबार बजार परिसूचक न्यून विन्दूले बढे पनि कारोबार रकमले भने बजारलाई साथ छाड्दै गएको देखिएको छ ।
यो दिन नेप्से परिसूचक २.८३ अंकले बढेको छ भने कारोबार रकम घटेर २३ करोड १० लाखमा सीमित हुन पुगेको छ ।
राम्रा कम्पनीको कारोबारमा केही वृद्धि भएका कारण सेन्सेटिभ इण्डेक्स ०.७४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१९ अंकको बढोत्तरी देखिएको छ ।
यो दिन बित्त समूह ०.९२ अंक र उत्पादनमूलक १९.६२ अंकले घटे पनि बाँकी समूहको परिसूचकमा भने बढोत्तरी भएको छ ।
बैंकिङ समूह २.३८ अंकले बढेको यो दिन विकास बैंक समूहमा ५.३ अंक, जलविद्युत समूहमा ६.८ अंक, होटल समूहमा १.३१ अंक, निर्जीवन बिमा समूहमा १२.४३ अंक, माइक्रोफाइनान्स समूहमा ६.७३ अंक, जीवन बिमा समूहमा ४.७४ अंक र अन्य समूहमा २.९६ अंकको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ७ लाख ३६ हजार ७ सय ६९ कित्ता सेयर २३ करोड १० लाख २२ हजार २ सय ३३ रुपैयाँमा खरीदबिक्री भएको छ ।
सबैभन्दा बढी अपर तामाकोशीको २ करोड ५५ लाख बढीको सेयर किनबेच भयो ।
नागरिक लगानीकोषले १ करोड ४३ लाख बढीको कारोबार गरेको दिन नेपाल टेलिकमले १ करोड १७ लाख, एनएमबी बैंकले ८४ लाख, इन्भेष्टमेन्ट बैंकले ७५ लाख, सिभिल बैंकले ६४ लाख, छिमेक लघुवित्तले ६० लाख, माछापुच्छे बैंकले ५९ लाख बढीको कारोबार गरे ।
इन्भेष्टमेन्ट बैंकको ५५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनआइसी एशियाले ५५ लाख बढीको कारोबार गरेको छ ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजिटिभ सर्किट लाग्यो । बुटवल पावर कम्पनी र रादी जलविद्युत योजनाका लगानीकर्ताले समेत यो दिन ६ प्रतिशतको हाराहारीमा कमाए ।
यो दिन पूर्णिमा विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४.३७ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19