नेप्सेले लिमिटको सुविधा हटाएपछि देखिएको समस्या, सबै लगानीकर्ताको बैंक र ठेगाना एउटै देखिएको अर्को समस्या र समस्या झेलिरहेका लगानीकर्ता राजकुमार श्रेष्ठ ।
-भक्तराज रसाइली
काठमाण्डौं । करोडौं खर्च गरी कार्यान्वयनमा ल्याइएको नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टम(नट्स)को भद्रगोल अवस्था जस्ताको तस्तै छ । नेप्सेले टेष्टेड सिस्टम र प्रणालीमा कुनै समस्या नभएको भन्दै अर्थसमितिसम्मे पुगेर दाबी गरे पनि लगानीकर्ताले भने दैनिक रुपमा अनाहकमा दुःख पाइरहेका छन् ।
पुतलीसडकस्थित एक ब्रोकरकहाँ अनलाइन लगइन लिई अनलाइन कारोबार गरिरहेका सेयर लगानीकर्ता राजकुमार श्रेष्ठ ब्रोकरकोमा १ घण्टादेखि लिमिट राख्ने प्रयास गर्दा समेत लिमिट नपाएर मंगलबार कारोबार गर्नबाट बञ्चित भए । सोही ब्रोकरकहाँ धेरै लगानीकर्ताहरुले फोन सम्पर्क गर्दा लिमिट राखिदिन आग्रह गरिरहेका थिए । लिमिट नराखिदिएको भन्दै ब्रोकरमाथि कतिपय लगानीकर्ता जाइलागेका दृश्य समेत देखियो ।
यो समस्या आफूहरुकहाँ मात्र नभई सबै ब्रोकरकोमा मंगलबारदेखि देखिएको ती ब्रोकरले बिजशालालाई बताए ।
हाम्रै अगाडिबाट ती ब्रोकरले नेप्सेस्थित सपोर्टमा फोन गरे, त्यसपछि नेप्सेबाट आफूहरुकै कमजोरीले यस्तो भएको जवाफ आयो । ब्रोकरले तत्काल समस्या समाधानका लागि आग्रह गरे, तर नेप्सेका कर्मचारीले भने यो समस्या समाधान हुन कम्तीमा ३ दिन लाग्ने जवाफ दिए ।
मंगलबार नै हामी अर्को ब्रोकरमा पुग्दा सबै लगानीकर्ताको ठेगाना र बैंक खाता विवरण एउटै देखिएको समस्या भेटियो । अनलाइन प्रणालीमा लगानीकर्ताहरुको पुरानो केवाइसी विवरणमा नेप्सेले ग्राहकका ठेगाना र बैंक खाता एकैचोटि सिस्टममा तान्दा यस किसिमको गल्ती भएको हुन सक्ने ब्रोकर अफिसका एक कर्मचारीले अड्कलबाजी गरे । यस समस्याबाट आजित ती कर्मचारीका अनुसार नयाँ केवाइसीमा समस्या नभए तापनि पुराना लगानीकर्ताहरुका विवरण एउटै हँुदा काम गर्नै असहज भइरहेको छ ।
नेप्सेका प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गत साता मात्र संघीय संसदको अर्थसमितिले डाकेको छलफलमा अनलाइन कारोबार प्रणाली गुणस्तरीय र अन्तराष्टिय स्तरको भएको दाबी गर्दै कुनै समस्या नभएको झूठ समेत बोल्न भ्याएका थिए ।
नियामकहरुको नेतृत्वले विभिन्न सार्वजनिक फोरममा दाबीका साथ अनलाइनमा कुनै समस्या नभएको भन्ने गरे पनि यथार्थमा ब्रोकर र लगानीकर्ताले दैनिकजसो नयाँ नयाँ समस्याबाट प्रताडित बन्नुपरेको छ ।
अनलाइन ट्रेडिङ्गमा लगानीकर्ताहरुको न्यून सक्रियताले समेत हाल आएर पुष्टि गरिरहेको छ कि अनलाइन लगानीमैत्री र विश्वस्तरको छैन । अत्याधुनिक प्रविधि अन्तर्गत नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीले दैनिकजसो हावा खाइरहेको र महङ्गो लागत खर्चेको प्रणालीमा आएको गडबडी र नेप्सेको हेल्चेक्र्याईँका कारण समेत सेयर बजारप्रति लगानीकर्ताको विश्वास दैनिक रुपमा टुटिरहेको विज्ञ बताउँछन् ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago