काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको त्रुटिले दोश्रो बजारप्रति लगानीकर्तालाई भड्काएको निश्कर्षसहित धितोपत्र बोर्डका अधिकारीहरुले यो विषयमा अर्थमन्त्रालयले तत्काल हस्तक्षेप गर्नुपर्ने निश्कर्ष निकालेका छन्।

उनीहरुले अनलाइन प्रणालीको त्रुटि सुधार्न नेप्से नेतृत्व सक्षम नरहेको र यो उनीहरुको नियन्त्रणभन्दा बाहिर रहेको दाबी गर्दै अर्थमन्त्रालयले हस्तक्षेप नगरे अवस्था अझ भयावह हुने र पूँजीबजार नै क्र्यासमा पर्नसक्ने भन्दै अर्थमन्त्रालय गम्भीर बन्नुपर्ने निश्कर्ष निकालेका हुन् । 

विश्वस्तरीय भनिएको नेप्सेको कारोबार प्रणालीमा दिनहुँजसो समस्या आएपछि धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले केही साताअघि नै गोप्य रुपमा एक छानबिन समिति बनाई अनुसन्धानमा खटाएका छन् । सो समितिले अनलाइन कारोबार प्रणालीमा भएको कमजोरी, यसको भद्रगोलपूर्ण अवस्थाबाट बजार तथा लगानीकर्ताको मनोविज्ञानमा परेको नकारात्मक प्रभाव र यसको समाधानको उपाय लगायतको विषय केलाइरहेको छ । कार्कीको यो छानबिन कहाँ पुग्यो, हालसम्म केही बताइएको छैन ।

तर,आइतबार नेप्सेको अनलाइन कारोबार प्रणाली १२ः४१ बजेदेखि ठप्प भएपछि नेप्सेका उच्च अधिकारीहरुको गोप्य बैठक बसेर अनलाइन प्रणाली नेप्सेको नियन्त्रणमा नरहेको निश्कर्ष निकाल्दै अर्थ मन्त्रालय अब नताते पूँजीबजार अझै ठूलो समस्यामा पर्नसक्ने धारणा बनाएको बोर्डस्थित उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा कार्कीको उपस्थिति थिएन ।

‘नेप्सेको अनलाइन प्रणालीको कमजोरी र लापरबाहीले हद पार गरिसकेको हाम्रो निश्कर्ष हो ।’ एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बिजशालासँग भने–‘अब अर्थले हस्तक्षेप गर्नुको अर्को विकल्प देखिन्न ।’

बोर्डका अधिकारीहरु विगत लामो समयदेखि नै १९ करोड रुपैयाँ भन्दा बढी खर्च भएको भनिएको अनलाइन प्रणालीमै गडबडी गरिएको र यो विषयमा समेत छानबिन हुनुपर्ने पक्षमा छन् । तर, यसका लागि उनीहरु आफैं बढ्ने भन्दा पनि कुनै लगानीकर्ता अगाडि बढिदेओस् भन्ने उनीहरुको चाहना रहेको देखिन्छ । 

‘हाम्रा अधिकांश साथीहरुको चाहना कुनै लगानीकर्ताले अनलाइनको नाममा भएको खर्च र त्यसको पारदर्शिताको विषयमा अख्तियारसम्म पुग्ने आँट देखाए, उसलाई अनौपचारिक रुपमा भरपूर सहयोग गर्ने भन्ने छ ।’ ती अधिकारीले दाबीका साथ भने–‘केही कुरा त अर्थमन्त्रालय पुगिसकेको छ, मन्त्रालय पनि त्यसै बस्दैन होला ।’

बोर्डका उच्च अधिकारीहरु नेप्सेको अनलाइन कारोबार प्रणालीको विषयमा निरन्तर खबरदारी गर्नुपर्ने लगानीकर्ता संघसंगठनका नेताको बलियो अडान नभएका कारण समेत समस्या बढ्दै गएको दाबी गर्छन् । ‘अनलाइन प्रणालीमा भएको गडबडी र यो निर्माणमा भएको अधिक खर्चको विषयमा लगानीकर्ताका कुनै पनि नेताले अहिलेसम्म दह्रोसँग कुरा नै उठाएका देखिन्न ।’ ती अधिकारीले बिजशालासँग भने–‘विज्ञप्तिबाजी गरेर मात्र केही हुनेवाला छैन । नेप्से छिर्दा बाघ जस्तै देखिने नेताहरु त्यहाँबाट निस्किँदा बिरालो जस्तै हुन्छन्, समस्या नै यहीँनेर छ ।’

बोर्डका अधिकारीहरु १९ करोड खर्च गरेको भनेर नेप्सेले निकै कमजोर प्रणाली भित्र्याएको दाबी समेत गर्छन् । ‘त्यति ठूलो खर्च भएको मजबुत प्रणाली थियो भने ३ सय जनाको खरीद चाप समेत एकैपटक थाम्न नसक्नुको कारण के हो ?’ ती उच्च अधिकारीले भने–‘३ सयको चापलाई थाम्न नसक्ने प्रणालीको भोलिको दिनमा बजार बिस्तार भएपछि एकैपटक हजारौं लगानीकर्ताको चाप कसरी धान्न सक्छ ?’