काठमाण्डौ । अनलाइन कारोबारका लागि ब्रोकरहरुले सहजै लगइन उपलब्ध नगराएपछि नेप्सेले गुनासो सुन्ने व्यवस्था गरेकै दिन एक लगानीकर्ताले ब्रोकर नम्बर ५६-श्रीहरि सेक्युरिटिज प्रालि विरुद्ध गुनासो गरेका छन् । 

नेप्सेस्थित उच्च स्रोतका अनुसार ब्रोकर नम्बर ५६ का नियमित एक लगानीकर्ताले आफूले पटक पटक अनुरोध गर्दा समेत अनलाइन कारोबार गर्न नपाएको र लगइन समेत नपाएको गुनासो दर्ता गराएका हुन् । 

उनले दर्ता गराएको गुनासोको विषयमा सम्बन्धित ब्रोकरलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको छ । 

नेप्सेले गुनासो सुन्ने व्यवस्था गरेपछि पहिलो गुनासोकर्ताको रुपमा नेप्सेमा ब्रोकर नम्बर ५६ विरुद्ध गुनासो गरेका ती गुनासोकर्ता बिजशालाको सम्पर्कमा समेत आएका छन् । 'मैले यसअघि पटक पटक युजर नेम र पासवर्ड दिन भनेँ, तर मेरो कुरा सुनुवाई भइरहेको थिएन ।' ती लगानीकर्ताले भने-'नेप्सेको सूचना बिजशालामा देखेपछि त्यसैका आधारमा फेरि मेरो ब्रोकरलाई नयाँ व्यवस्थाको विषयमा जानकारी गराउँदै लगइन दिन आग्रह गरेँ, तर आज पनि अहिले लगइन लिन संभव छैन भन्ने जवाफ आएपछि बाध्य भएर नेप्सेमा गुनासो गरेको हुँ ।' 

नेप्सेले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै लगानीकर्ताहरुबाट नट्समा अनलाइन कारोबारका लागि लगइन दिने विषयमा ब्रोकरहरुले असहयोग गरेका गुनासो आएको भन्दै गुनासो सुन्न २ कर्मचारी नै खटाई सम्पर्क नम्बर समेत उपलब्ध गराएको थियो । 

उसले पुँजीबजारमा सर्वसाधारणको पहुँचलाई सहज गर्नका लागि अनलाइन कारोबार प्रणालीको लगइन सहजै उपलब्ध गराउन ब्रोकरहरुले निर्देशन दिएको छ । 

नेप्सेले अनलाइन कारोबार प्रणालीको लगइन लिनका लागि लगानीकर्ताहरुले कुनै पनि शुल्क तिर्नु नपर्ने समेत प्रष्ट्याएको छ । 

नेप्सेस्थित स्रोतका अनुसार कतिपय ब्रोकरहरुले सहज रुपमा लगानीकर्तालाई लगइन उपलब्ध नगराएका र यस्तो प्रवृतिलाई निरन्तरता दिने ब्रोकरहरुलाई कारबाही गर्ने रणनीति समेत बनाइएको छ । 

लगानीकर्ताले गुनासो गरेका ब्रोकरहरुलाई सुरुवातमा सफ्ट स्पष्टीकरण सोधिनेछ । उनीहरुविरुद्ध बारम्बार गुनासो आइरहे कारोबारमा बन्देजदेखि लाइसेन्स खारेजसम्मको कारबाही हुने नेप्सेस्थित स्रोतले जानकारी दिएको छ ।