काठमाण्डौ । धितोपत्रको दोश्रो कारोबार पूर्ण रुपमा अनलाइनमार्फत गर्ने व्यवस्था कार्यान्वयनको पूर्वसन्ध्यामा धितोपत्र बोर्डले सुझबुझका साथ सेयरमा लगानी गर्न लगानीकर्ताहरुमा आह्वान गरेको छ । 

बोर्डका प्रवक्ताले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्र खरीदबिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको अवस्थाका बारेमा आधारभूत र प्राविधिक विश्लेषणसहित आवश्यक जानकारी लिन र हल्लाको पछाडि नदौडन आग्रह गरेका हुन् । 

‘धितोपत्र बजारको अवस्था तथा बजार सुधारका काम कार्यबाहीहरुको अध्ययन गरी हल्लाको पछि नलागी सुझबुझ तरिकाले लगानी सम्बन्धी निर्णय लिन अनुरोध गर्दछौ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र बजारको लाग्ने भ्याट लगायतका कतिपय समस्याको समाधान भइसकेको र अब धितोपत्र बजारको विकासको युग भएको समेत बोर्डको निश्कर्ष छ । 

बोर्डले देशको समग्र आर्थिक अवस्था र सूचिकृत कम्पनीहरुको अवस्था समेत सन्तोषजनक रहेको भन्दै बुद्धिमतापूर्वक लगानी गर्न  समेत आग्रह गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कात्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको0 बेला बोर्डको यस्तो विज्ञप्ति आएको हो ।