काठमाण्डौ । कोरोना संक्रमण फैलिने सम्भावना बढ्दै गएपछि स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले अनलाइनमार्फत सेयर कारोबार गर्न लगानीकर्ता तथा सदस्य ब्रोकरहरुलाई आग्रह गरेको छ। 

एसोसिएसनले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। कोरोना संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको अवस्थामा ब्रोकर हाउसहरुमा ग्राहकको बढ्दो भीडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यरत कर्मचारीसमेत उच्च जोखिममा परेको विज्ञप्तिमा जनाइएको छ। अहिले सेयर कारोबार विद्युतीय माध्यमबाट नै गर्न सक्ने व्यवस्था भएकोले सम्पूर्ण लगानीकर्ता तथा सदस्य ब्रोकहरुलाई विद्युतीय माध्यमबाट मात्र गर्न गराउन एसोसिएसनले आग्रह गरेको छ।  

विज्ञप्तिमा कतिपय ब्रोकर हाउसहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणसमेत देखिसकेको जनाइएको छ। यस्तो अवस्थामा भौतिक उपस्थिति बिना नै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।