काठमाण्डौ । निकै लामो समयको प्रतिक्षापछि कार्यान्वयनमा ल्याइएको पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीमा दिनहुँजसो समस्या आएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरको नाममा सूचना जारी गरेको छ । 

नेप्सेले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गर्दै आवश्यक जानकारी अपडेट नगराई ब्रोकरको प्रणाली(टिएमएस) कारोबार गर्न नसकिने प्रष्ट पारेको छ । 

केही ब्रोकर तथा लगानीकर्ताहरुले टिएमएसमार्फत कारोबार गर्न नपाएको भन्ने जानकारी प्राप्त भएको र नेप्सेको पुरानो कारोबार प्रणाली(सिटिएस)मा केवाइसी अपडेट नभएका अथवा अपडेट गरे पनि केही आवश्यक पर्ने विवरण छुटेका कारण यो समस्या आएको नेप्सेको दाबी छ । 

नेप्सेले माग गरिएको व्यक्तिगत वा संस्थागत विवरण आफ्ना ब्रोकरलाई उपलब्ध गराउन लगानीकर्तालाई आह्वान गरेको छ । 

विवरण अपडेट नगरी युनिक क्लाइन्ट कोड(यूसीसी) प्राप्त नहुने र टिएमएसमा कारोबार गर्न समेत नसकिने नेप्सेको सूचनामा उल्लेख छ । 

नेप्सेका अनुसार कर्पोरेट क्लाइन्टहरुले आफ्ना ब्रोकरलाई क्लाइन्टको नाम, क्लाइन्टको कोड, रजिस्टेसन नम्बर र रजिस्टेसन डेट(मिति) उपलब्ध गराउनुपर्नेछ । 

यस्तै, व्यक्तिगत क्लाइन्टका लागि नाम, कोडनम्बर, जन्ममिति, नागरिकता जारी मिति, नागरिकताको नम्बर र नागरिकता जारी भएको जिल्ला सम्बन्धी विवरण आवश्यक पर्नेछ ।