-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टममा डाटा लिकदेखि अनलाइनको भद्रगोल स्थितिका बिषयमा गोप्य ढंगले अनुसन्धान सुरु गरेको छ । 

बोर्डस्थित उच्च स्रोतले अनलाइनको भद्रगोलपूर्ण अवस्थाका कारण बजारप्रतिको विश्वास गुम्दै गएको निश्कर्षसहित दैनिकजसो नेप्सेले गर्ने गरेको गल्ती, कमजोरी र अनलाइन प्रणाली निर्माणको क्रममा भएको गडबडीको बिषयमा गोप्य अनुसन्धान थालिएको दाबी गरेको हो । 

रु.१९ करोड खर्चंदै नेप्सेले विश्वस्तरको पूर्ण स्वचालित अनलाइनको दाबी गर्दै आएको, तर सो मुताबिक सिस्टम प्रभावकारी नभएको भन्दै बोर्डस्थित एक उच्च अधिकारीको नेतृत्व छानबिन थालिएको बताइएको छ । स्रोतले भन्यो ः नेप्सेको लापरबाहीले सीमा नाघ्यो, अब बोर्ड चूप लागेर बस्दैन । तपाई संचारकर्मीहरुबाट समेत नेप्सेको अनलाइनका कमजोरी र भद्रगोलका विषयमा सूचनाको सहयोगको अपेक्षा राखेका छौ ।

सेयर बजारमा अनलाइन प्रणालीको सुरुवात भएपछि नेपालको सेयर बजारले निकै राम्रो फड्को मार्ने र यो क्षेत्र लगानीको आकर्षण बन्ने धेरै विश्लेषकहरुले दाबी गरेका थिए । अनलाइन ट्रेडिङको सुरुवातसँगै विश्वभर छरिएर रहेका नेपालीहरुले दोश्रो बजारमा समेत अनलाइन लगानी गर्न पाउने र यसले बजार बिस्तार भई नयाँ उचाईमा पुग्ने धेरैको आशा थियो । तर, नेप्सेको कमजोरी र हदैसम्मको लापरबाहीका कारण अनलाइनले स्वदेशकै लगानीकर्ताको समेत विश्वास गुमाउन थालेपछि नियामक बोर्ड गम्भीर देखिएको हो । 

बजार सञ्चालकको जिम्मेवारी पाउँदै आएको नेप्सेमा फूलफेजको अनलाइनमा अचाक्ली समस्या देखा पर्न थालेपछि र पटक पटक सुधारका लागि दिएको निर्देशन समेत कार्यान्वयन नआएपछि आजित बनेकाले आफूहरुले समेत सुक्ष्म अनुसन्धान थालेको र सो क्रममा फेला पर्ने तथ्यहरुका आधारमा आगामी कदम चालिने स्रोत बताउँछ ।

पछिल्लो समयमा ब्रोकरहरु समेत अनलाइनको वितण्डा र भद्रगोलकै कारण आजित भइरहेका छन् । फ्लोरसिट र जथाभावी कमिसन नेप्सेको नयाँ सिस्टममा देखिँदै त छ नै  कुनैकुनै बेला खरिदबिक्रीको अत्यधिक चाप सहन नसकी सिस्टम नै क्र्यास हुने जटिल समस्या समेत दोहोरिरहेको छ ।

स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका प्रियराज रेग्मीले अनलाइन जस्तो भए पनि आफूहरुले नेप्सेलाई सहयोग गर्नुपर्नेमा जोड दिए । ‘हिजोका दिनमा ओपन क्राईआउट सिस्टम नेप्सेले दियो, हामीले चलायौ । बीचमा सेमीअनलाइन आयो, त्यो पनि चलायौ।’ उनले भने–‘अहिले पनि नेप्सेले जे सिस्टम दियो त्यही चलाउँछौ । हामी बाध्य पनि छौं । नेप्सेले दिएकै सिस्टम जस्तो छ त्यस्तै चलाएर सहयोग गर्छौ ।’

उता, धितोपत्र बोर्डका अध्यक्ष डाक्टर रेवतबहादुर कार्कीकै पहलमा नेप्सेको सीइओ हुँदा सेमी अनलाइन सफलतापूर्वक संचालन गरेर धितोपत्र बजारमा आमूल परिवर्तन गरेको अनुभव छ । अध्यक्ष कार्कीले अनौपचारिक फोरम तथा बैठकहरुमा हाल नेप्सेको अनलाइन प्रणाली निकै खर्चिलो र त्रुटिपूर्ण रहेको भन्दै आलोचना गर्ने गरेका छन् ।

यसैबीच, हामीले यो क्रममा ब्रोकरहाउसमा अनलाइनको प्रतिक्रिया समेत बुझ्न खोजेका थियौ । अधिकांश ब्रोकर र लगानीकर्ताले अहिलेको प्रणाली अनलाइन प्रणाली नै नभएको टिप्पणी गरेका छन् । ‘सेयर किनबेच गरेको पैसा लिन अहिलेसम्म ब्रोकर कार्यालय धाउनुपर्ने हुन्छ, अनि कसरी भयो स्वचालित अनलाइन ?’एक लगानीकर्ता बिबेक पौडेलले आक्रोश पोखे । बिनापूर्वाधार बनाएको सिस्टमलाई स्वचालित अनलाइन भन्दै जनताको पैसा बालुवामा खेर गएको र अनलाइन आएको भनिए पनि सेमीअनलाइन भएको अवस्था भन्दा बढी आफूहरुले दुःख पाएको उनको भनाई छ । 

नेप्से र नेप्सेका कर्मचारीहरुले गम्भीर सूचना तथा जानकारीमा गाम्भीर्यता प्रदर्शन नगरेकोप्रति ब्रोकर कार्यालयमा भेटिएका लगानीकर्ता रमेश नेपालले मुख खोले । नियामक नेप्सेले लगानीकर्ताहरुको सम्पत्तिमाथि दिनहुुँ गैरजिम्मेवारीपन देखाउने र स्थायी कर्मचारीको घमण्ड र लापरबाहीले हद नाघेको उनको आरोप छ ।

नेपालमा एकमात्र बजार संचालकका रुपमा एकाधिकार जमाउदै आएको नेपाल स्टक एक्सचेञ्जले अनलाइन प्रणालीको खोटकै कारण बियरिस अवस्थामा रहेको बजारमा लगानीकर्ताहरुको मनोबल गिराउन थप सहयोग गरिरहेको छ भने बजारप्रतिको विश्वास टुट्दै गएका कारण हिजोआज ब्रोकर कार्यालय सुनसान हुन थालेका छन् । 

अनलाइन प्रणालीअनुसार सुविधा र सेवाको ग्यारेन्टी जत्तिसक्दो चाँडो गरेर नेप्सेले गुमाएको साख फिर्ता गर्न आवश्यक रहेको विश्लेषकहरु बताउँछन्।