-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाली सेयर बजारको ऐतिहासिक दिनका रुपमा रहेको २०७५ साल कात्तिक २० गते मंगलबारका दिन नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले पूर्ण स्वचालित अनलाइन समुद्घाटन भएको विषयमा प्रेस विज्ञप्ति जारी गर्यो । सो विज्ञप्ति नेप्सेका प्रवक्ता तथा कामु सहायक प्रबन्धक समेत रहेका मुराहरी पराजुलीको नाममा जारी भएको थियो ।  बिना हस्ताक्षर र कम्पनीको छाप नलगाई निकालिएको विज्ञप्तिले कम्पनीको सामान्य नियम र कानून समेत उल्लंघन गरेको र गैरजिम्मेवारीपन देखिएको विज्ञहरुले टिप्पणी गरेका छन् । 

पब्लिक लिमिटेड कम्पनीका रुपमा रहेको नेप्सेले कम्पनी ऐन ,२०६३ को मर्मलाई  ठाडै बेवास्ता गरेको  हो । जारी विज्ञप्तिमा प्रवक्ताको  न त हस्ताक्षर थियो न त नेप्सेको आधिकारिक छाप नै । नेप्से कम्पनी हो, तर कानूनी व्यक्ति भएकोमा उसले पेश गर्ने प्रतिबेदन ,अभिलेख तथा कुनै सूचना ,कम्पनीका आधिकारिक प्रकाशनहरु, कम्पनीका तर्फबाट जारी गरिएका आधिकारिक लिखतहरुमा छाप र हस्ताक्षर गर्नुपर्ने  कम्पनी ऐन २०६३को  दफा २६(२) मा उल्लेख छ । 

करिब २ सय सूचीकृत कम्पनीमाथि नियमन गर्ने नेप्सेले आफै यस किसिमको गम्भीर त्रुटिले नेप्सेको हेल्चेक्र्याई र प्रवक्ता पराजुलीको योग्यता र बुद्धिमता माथि  नै प्रश्न चिन्ह र शंका खडा भएको जानकारहरुको भनाइ छ । 

नेप्सेजस्तो आधिकारिक निकायले यस किसिमका गल्तीले ऊ आफैं कस्तो हो भन्ने जिज्ञासा सर्वत्र भएको छ । यद्यपि सही र छाप अनिवार्य हुनुपर्ने अनि  मात्रै यसले बैधानिकता पाउने कुरामा नेप्से नै पनि जानकार हुनुपर्छ । परिस्थितिले हिजो विपरीत मोड समातेको अवस्थामा नेप्सेका प्रवक्ता समेत रहेका मुराहरी पराजुली एक जिम्मेवार अधिकारी हुन् भन्ने कुरो बिर्सनु हुँदैन भन्ने सर्वत्र आलोचना भइरहेको छ । 

यता, हरेक कम्पनीको आफ्नै छुट्टै कानूनी बिभाग पनि  हुने गर्दछ ।  अझ नेप्से जस्तो आधिकारिक र नियामक निकायमा पनि उक्त कानूनी बिभागका अधिकारीहरु नेप्सेको छतमा गएर घाम ताप्न मात्रै उद्दत रहन्छ कि आम सेयर लगानीकर्ताहरुको र सूचीकृत कम्पनीप्रतीको जिम्मेवारीमा सजग हुन्छन् भन्ने प्रश्न समेत उब्जिएको छ । 

जानकारहरुका अनुसार नेप्सेले सूचीकृत कम्पनीहरुको फाइल तथा कागजातमा आवश्यक कामकारबाही गर्ने सिलसिलामा हस्ताक्षर र कम्पनीको छाप नभएमा कानूनी प्रक्रिया पूरा गर्न सचेत गराउने निकाय नै आज सबैको सामू नाङ्गो भएको चर्चा परिचर्चा सेयर बजारमा भइरहेको छ ।