काठमाण्डौ । विश्वस्तरीय भनिएको नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा पुनः समस्या देखिएको छ ।
नेप्सेको अनलाइन प्रणालीमा आइतबार १२.४१ देखि समस्या देखिएर चल्न छाडेको हो ।
यो समाचार तयार पार्दासम्म(२ः३०)सम्म पनि नेप्सेको अनलाइन कारोबार प्रणालीले काम गरेको छैन ।
अनलाइन कारोबार प्रणालीमा निकै ठूलो समस्या आएको नेप्सेस्थित स्रोतले दाबी गरेको छ । यहीकारण लामो समयसम्म समस्या समाधान हुन सकेको छैन ।
नेप्सेले कनेक्सनको समस्या भन्दै लगानीकर्तालाई धैर्य गर्न आफ्नो वेबसाइटमा सूचना टाँसे पनि समस्या गम्भीर रहेको भन्दै त्यस बिषयमा नेप्सेभित्र आइटीसहितको छलफल चलिरहेको छ । अनलाइन सफ्टवेयरको भेण्डर कम्पनी वाइको, नेप्सेको आइटीका अधिकारी लगायतका छलफल भइरहेको छ ।
नेप्सेमै रहेका हाम्रा संवाददाता भक्तराज रसाइलीले त्यहाँको आइटीस्थित कर्मचारीलाई उद्धृत गर्दै बताए अनुसार डाटामा समेत निकै ठूलो समस्या देखिएको छ । ‘डाटा मिसम्याचको समस्या आइरहेको छ ।’ आइटीका एक कर्मचारीलाई उद्धृत गर्दै रसाइलीले बिजशालाको न्यूज डेस्कलाई भनेका छन्–‘आजको समस्या केही गम्भीरजस्तो देखिएको छ ।’
नेप्सेका आईटी शाखाका प्रभाकर घिमिरे यस विषयमा नबोल्ने मिटिङ्ग छ भन्दै तर्किएका हाम्रा संवाददाताले जनाएका छन् ।
अन्तराष्ट्रिय स्तरको हवाला दिइने गरिएको नेप्से इन्डेक्स बढिरहेको र कारोबारमा तेजी आउँदा सिस्टममा गडबडी देखिनुलाई चलखेल र नेप्सेको बदनियतपूर्ण अभ्यासको रुपमा हेरिएको छ । बजार बढ्ने क्रम सुरु भएसँगै प्राय नेप्सेको सिस्टम बिग्रिने विषयलाई गम्भीरताका साथ हेरी छानबिन हुनुपर्ने लगानीकर्ताहरुको माग छ ।
नेप्सेले गत कात्तिक २० गतेदेखि तामझामका साथ अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याएको थियो । त्यसपछि दैनिकजसो यो प्रणालीमा नयाँ नयाँ खालका समस्या आइरहेका छन् । लामो समयदेखि समस्याले जेलिँदै आए पनि यसको दीर्घकालीन हल खोज्ने र अनलाइन कारोबार प्रणालीलाई भरपर्दो बनाउने बिषयमा नेप्से व्यवस्थापनले काम गर्न सकेको छैन ।
लगानीकर्ताहरुले नेप्से अनलाइन कारोबार प्रणाली असुरक्षित र अभरिलो भएकै कारण यसमा आबद्ध भएर कारोबार गर्न चाहिरहेका छैनन् । यहीकारण पासवर्ड लिएर आफैं अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या नगण्य छ ।
नेप्सेले अनलाइन कारोबार प्रणालीलाई विश्वस्त र बलियो बनाउन नसकेकै कारण लगानीकर्ताको मनोबल गिर्दो छ ।
कतिपयले त १९ करोड बढीको लगानीमा ल्याइएको भनिएको अनलाइन कारोबार सिस्टम नै कमजोर रहेको भन्दै यसमा छानबिन हुनुपर्ने माग उठाइरहेका छन् ।
एक ब्रोकरले नेप्से परिसूचक बढ्दै जाँदा अहिलेसम्म करिब ४ पटकसम्म नेप्सेको अनलाइन प्रणालीमा यस्तै समस्या देखिएको दाबी गर्दै यस विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । 'यसमा नेप्से र भेण्डर कम्पनीको फट्याई छ ।' ती ब्रोकरले नाम उल्लेख नगर्ने शर्तमा भने-'हामीले हेर्दा जब कारोबार रकम बढ्न थाल्छ र बजारमा खरीद चाप देखिन्छ, त्यस्तो चापलाई अहिलेको सिस्टमले धान्नै सक्दैन । बारम्बार आएको समस्याबाट यही कुरा पुष्टि हुन्छ ।'
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago