काठमाण्डौ । नेप्सेको अनलाइन प्रणाली(NOTS)मा रहेको टीएमएस ( Trading Management System) छिट्टै परिवर्तन भई बिदेशी  टेष्टेड प्रणाली आउने पक्का भएको छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटका अनुसार वाइको प्रालिबाट उपलब्ध टीएमएस अन्तर्राष्ट्रिय स्तरको  परीक्षण भएको प्रणाली नेप्सेको अनलाइनमा निकट समयमै जडान गरिन लागिएको हो। 

समयको माग र कारोबार म्याचिङ सिस्टमलाई अपग्रेड गर्ने हेतूले २ वटा देशका  सिस्टम भेण्डर पार्टीसँग २ वटा छलफल भइसकेको  बताउँदै अध्यक्ष रानाभाटले नेप्से र वाइको प्रालिको सहयोग चाहिने बताए । वाइकोले सहयोग गरेमा नयाँ सिस्टममा धितोपत्र कारोबार गर्ने सिस्टम जडान गर्न धेरै समय नलाग्ने रानाभाटले जिकिर गरे।

मोबाइलमैत्री बनाइए संसारभर जुनसुकै स्थानबाट अनलाइन ट्रेडिङ गर्न सहज हुने तर्क राखेका रानाभाटले प्रोपाइटर ट्रेडिङ, थप नयाँ फिचरसहित सहज मोडिफाइ गर्न मिल्ने किसिमको प्रयोगमैत्री बिदेशी टेष्टेड प्रणाली भित्र्याउन लागेको जानकारी दिए।  १–२ चरण नेप्सेसङ्ग कुराकानी भइसकेको र नेप्सेले एप्रूभ गरे चाँडै टीएमएस जडान गरिने उनले दाबीसमेत गरे।

यता, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बिदेशी सिस्टम ल्याइनु झन् राम्रो भएको बताउँदै  एपीआइको पोलिसी विकास भइरहेकाले नेप्से यस विषयमा सकारात्मक रहेको बताएका छन् ।

नेप्से अनलाइन ट्रेडिङ सिस्टम र टीएमएसको  सफ्टवेयर  भेण्डर कम्पनी वाइको प्रालिका सीइओ दीपेश प्रधानका अनुसार एपीआईबाट स्ट्यान्डर्ड प्रोसेस फलो गरिए नयाँ टीएमएस जडान गरिन मिल्ने बताए । ‘पहिले नेप्से, वाइको प्रालि बीच टीएमएस नयाँ जडान गरिए मिल्ने सहमति भएको थियो।’सीइओ प्रधानले बिजशालासँग भने–‘खुल्ला कनेक्टिभिटीबाट एपीआईमा जडान गर्न मिल्छ।’

सिस्टम डिजाइन फरक फरक राख्न मिल्ने एपीआइबाट डाटा सेन्टर र सफ्टवेयर राख्न कुनै समस्या नरहेको प्रधानको भनाइ छ।

नेप्सेको अनलाइन प्रणालीमा सेयर लगानीकर्ताहरुको उल्लेख्य सहभागिता हुन नसकिरहेको बखत ब्रोकरहरुकै पहलमा परीक्षण गरिसकिएका ट्रेडिङ व्यवस्थापन सिस्टम अन्तर्राष्ट्रिय स्तरको भित्रिएपछि मोबाइलमैत्री र प्रयोगकर्तामैत्री हुने बताइन्छ । सेयर बजारमा नयाँ प्रविधि प्रयोगमैत्री बनाइए नेप्से सूचकले साथ दिंदै उछाल आएको इतिहास पनि हामीसँग साक्षी छ।