काठमाण्डौ । प्रहरीले अनलाइन बेटिङ प्लेटफर्मको प्रचारप्रसार गरेको आरोपमा कलाकारद्वय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र राजु पौडेल ‘राजु मास्टर’सहित ८ जनालाई पक्राउ गरेको छ। 

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा कलाकारद्वयसहित आठलाई बुधबार पक्राउ गरिएको हो। हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा श्रेष्ठले बल्छी ध्रुवे र पौडेलले राज मास्टरको भूमिका निर्वाह गरेका थिए। 

यो प्रकरणमा अन्य कलाकार र युट्युबर पनि संलग्न देखिएकोले पक्राउको सूचीमा राखिएको प्रहरीले जनाएको छ। ‘अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘अन्यको खोजी भइरहेको छ।’

प्रहरीले बुधबार वानएक्स बेटमार्फत १ अर्ब रुपैयाँ बढीको सट्टेबाजी गराउने ५ एजेन्टलाई सार्वजनिक गरेको थियो। 

पक्राउ परेकाहरुले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने विज्ञापन प्रसारण गरिएको थियो।