काठमाण्डौ । एक सूत्रीय माग राख्दै आमरण अनसन बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडस्थित कार्यालय परिसरमा गत आइतबारदेखि नेपाल पूँजीबजार विकास अभियानका संयोजक तथा सेयर लगानीकर्ता तिलक कोइराला आमरण अनसन बस्दै आएका छन् । आज बुधबार कोइराला आमरण अनसन बसेको चौथो दिन हो ।

पूँजीबजारको सुधारको माग राख्दै २ वर्षअघि अर्थमन्त्रालयद्वारा गठित कार्यदलले तयार पारेको ५८ बुँदे सुझावसहितको प्रतिवेदनमा उल्लेख भएकामध्ये बाँकी १८ बुँदे माग सरकारले पूरा गर्नुपर्ने आमरण अनसन बसेका कोइरालाको भनाइ छ ।

लगानीकर्ताको हकहित तथा पूँजीको सुरक्षाका लागि शान्तिपूर्ण रुपमा आमरण अनसन बसेको चौथो दिन न्यून रक्तचाप तथा सुगरका रोगी कोइरालाको स्वास्थ्य अवस्था निकै बिग्रिएको एक सहयोगीले बताए । 

कोइरालाको आमरण अनसनलाई  नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले समर्थन जनाइसकेका छन् । अन्य लगानीकर्ताहरुबाट समेत अनसनप्रति ऐक्यबद्धता आउने क्रम जारी छ। 

लगानीकर्ताहरुले कोइरालाका जायज माग तत्काल पूरा गर्न माग गरिरहे पनि सरकारले सुनेको छैन ।