काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने स्पष्ट पारेका छन्। 

अयोग्य लडाकुलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थ मन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमिता, घोटला, राज्य कोष जथाभावी बाँड्ने र व्यक्ति पोसित काम मबाट हुँदैन र हुन दिइँदैन। म यस्तो काम गर्दैगर्दिन। हामी कोही पनि गर्दैनौँ भन्ने विश्वास म सबैलाई दिलाउन चाहन्छौँ।’ 

व्यक्ति र राजनीतिक दलभन्दा माथि उठेर देश र जनताका लागि आफूले काम गर्ने अर्थमन्त्री महतले भने, ‘मेरो र सरकारको लक्ष्य त्यो हुँदै होइन। ढुकुटी समाप्त पार्न, रकम कुम्ल्याउन थाल्यो कि भन्ने आशंका लागेको छ भने म स्पष्ट रुपमा भन्छु, त्यस्ता आशंका छ भने तपाइँहरुले दिमागबाट निकाल्दिनुस्।’ 

‘अयोग्य लडाकूहरुको विषय धेरै अगाडिदेखि अदालतमा पुगेको हो, त्यसबाट पनि निर्णय भएर आएको छ। यसभन्दा अगाडिको बजेटमा पनि त्यो व्यवस्था गरिएको छ’, महतले भने, ‘म त्यसबेला अर्थमन्त्री थिइन।’ 

यो विषयलाई अगाडि बढाउने भन्ने सन्दर्भ सञ्चारमाध्यममा आएको उल्लेख गर्दै महतले भने, ‘म अर्थमन्त्री भएपछि यो निर्णय भएको होइन। यो विषय अगाडि बढेकोबारे मलाई जानकारी थिएन। कार्यविधि पास गरेर अगाडि बढाउने विषयमा मलाई जानकारी छैन।’

आफू मन्त्री भएर आएपछि मन्त्रालयले यस विषयमा कुनै निर्णय नगरेको पनि महतले स्पष्ट पारे। ‘कार्य विधि बनाउने र बजेटको व्यवस्था गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो’, उनले भने, ‘कार्यविधि बनाउनुपर्छ भन्ने विषय आएको थियो अरे र बन्यो अरे भन्ने मैले पनि सुनेको हुँ।’ 

मन्त्री महतले भने, ‘म स्पष्ट भन्न चाहन्छु, लडाकुलाई पैसा दिने विषयमा अर्थमन्त्रालय र म संलग्न छैन। नेपाली कांग्रेस पार्टीको प्रवक्ता पनि हुँ म। पार्टी र मेरो व्यक्तिगत राय–सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन पनि गर्नुपर्छ। जति पनि द्वन्द्वसँग जोडिएका विषय छन्, यी सबै सत्यनिरुपण आयोगबाट भयो भने सबैभन्दा उत्तम हुन्छ।’ 

यो विषय लामो समयदेखि अदालत, सरकार र संसदमा उठेको सबैलाई जगजाहेरै रहेको महतले बताए। ‘यस सम्वन्धमा के गर्ने होला भन्ने विषय गृहमन्त्रालयमा छलफल भयो होला’, उनले भने, ‘ यो विषयको अन्तिम टुंगो र मन्त्रिपरिषद्बाट निर्णय भएको र अब यसलाई यसरी अगाडि बढाउने कुरो मेरो जानकारीमा छैन।’