काठमाण्डौ । चाडपर्वको मुखमा सरकारले अनुुगमनको नाममा आतंक मच्चाएको आरोप लगाउँदै काठमाण्डौका दरबारमार्गका व्यापारीहरुले अनिश्चितकालका लागि व्यापार/व्यवसाय बन्दको घोषणा गरेका छन् । 

आपूर्ति व्यवस्थापन विभागले उपभोक्ता हित संरक्षण मञ्च समेतको सहभागितामा केही दिनअघिदेखि दरबमार्ग क्षेत्रका ब्राण्डेड पसलहरुको अनुुगमन थालेको थियो । सो क्रममा खरीद मूल्य भन्दा दजनौ गुणा बढी बिक्री मूल्य राखेर ब्राण्डेड पसलको नाममा उपभोक्ता ठग्ने काम भएको भन्दै त्यस्ता पसलहरुमा शिलबन्दी गरिएको थियो । आपूर्तिमन्त्रीको आदेशमा यो क्षेत्रमा अनुुगमनलाई दैनिक रुपमा संचालन गर्न थालिएपछि तर्सिएका व्यापारी व्यवसायीले सबै पसल बन्द गरेका हुन् । 

उनीहरुको आन्दोलनका कारण बिहीबारदेखि दरबारमार्ग क्षेत्रका कुनै पनि पसल खुलेका छैनन् । व्यापारी व्यवसायी ठाउँ–ठाउँमा भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । 

दरबारमार्ग विकास बोर्डको ब्यानरमा व्यापारी तथा व्यवसायी सडकमा उत्रिएका हुन् ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै अनुुगमनको नाममा आतंक फैलाइएको, दरबमार्गको ब्राण्डेड छविलाई धूमिल बनाई व्यापार व्यवसायमा भएको करोडौंको लगानी राज्य पक्षबाटै धराशायी बनाइएको आरोप लगाएको छ । 

बोर्डले सरकारी पक्षबाट आकस्मिक तथा नकारात्मक दृष्टिबाट व्यवसायीलाई जबरजस्ती व्यवसाय बन्द गर्न बाध्य पारिएको दाबी गरेको छ । 

‘जुन कार्यको दरबार मार्गका सम्पुर्ण पसलहरु तथा दरबारमार्ग विकास वोर्ड घोर भत्र्सना गर्दछ ।’ बोर्डको विज्ञप्तिमा भनिएको छ–‘सरकारी तवरबाटै पसल पसलमा आई छापा मारी ब्यापार ब्यवसाय धरासायी भएको मात्र होइन, अन्तराष्ट्रिय ब्राण्डको समेत खिल्ली उडाउने काम भएको छ । यस्ले दरवार मार्ग क्षेत्रमा बर्षौ देखी राज्यलाई कर बुझाउदै ब्यापार गरीरहेका ब्यापारीहरुको गरिमामा आँच आएको तथा ठूूलो लगानी समेत डुब्ने अवस्था आएको छ ।’

बोर्डले पसल बन्द हुँदाको अवधिको क्षतिपूर्ति राज्यले भर्नुपर्ने माग पनि गरेको छ ।